जीतपुरसिमरामा बालबालिका हिंसा न्यूनीकरण गर्न विद्यालय केन्द्रित सचेतना अभियान
बारा । बालबालिकामाथि हुने हिंसा तथा दुर्व्यवहार न्यूनीकरण गर्ने उद्देश्यले बाराको जीतपुरसिमरा क्षेत्रमा विद्यालय केन्द्रित सचेतना अभियान सुरु गरिएको छ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरीले विद्यालयमै पुगेर बालबालिकालाई शरीरको सुरक्षा, अनुचित स्पर्श पहिचान गर्ने तरिका तथा जोखिमपूर्ण अवस्थाबाट जोगिने उपायबारे प्रशिक्षण दिन थालेका हुन्।
गिरीले आफूले अध्ययन गरेको जीतपुरस्थित जीवन ज्योति सेकेन्ड्री स्कुलबाट अभियानको सुरुवात गरेका हुन्। प्रशिक्षणका क्रममा बालबालिकालाई आफूलाई असहज वा अनुचित लाग्ने स्पर्शको प्रतिरोध गर्न तथा त्यस्ता घटना लुकाउनुको सट्टा अभिभावक, शिक्षक वा विश्वासिलो व्यक्तिलाई जानकारी गराउन सिकाइएको छ।
प्रशिक्षणमा बालबालिकामाथि हुन सक्ने यौनजन्य हिंसा तथा दुर्व्यवहारका संकेत, जोखिमबाट बच्ने उपाय र असहज परिस्थितिमा अपनाउनुपर्ने व्यवहारबारे समेत जानकारी दिइएको गिरीले बताए।
विद्यालय तहबाटै बालबालिकालाई आफ्नो सुरक्षा र आत्मरक्षासम्बन्धी ज्ञान दिन सके हिंसा तथा दुर्व्यवहारका घटना न्यूनीकरण गर्न सहयोग पुग्ने गिरीको भनाइ छ।
अभियानलाई जीतपुरसिमराका अन्य विद्यालयमा समेत विस्तार गर्ने योजना रहेको उनले बताए। अभियानमा विद्यार्थीका साथै शिक्षक र अभिभावकलाई समेत सहभागी गराउने तयारी गरिएको छ।
बालबालिकाको सुरक्षा परिवार वा विद्यालयको मात्र जिम्मेवारी नभई समुदायको पनि साझा दायित्व भएकाले सबै पक्षबीच सहकार्य आवश्यक रहेको गिरीले बताए।










