सिरहामा सर्पदंशबाट ११ वर्षीय बालकको मृत्यु
सिरहा । सिरहामा सर्पदंशबाट ११ वर्षीय बालकको मृत्यु भएको छ। भगवानपुर गाउँपालिका–२ गमहरियाका प्रियांसु भगतको उपचारका क्रममा सोमबार साँझ विराटनगरमा मृत्यु भएको परिवारले जनाएको छ।
भदौ ३ गते राति सुतिरहेको अवस्थामा सर्पले डसेपछि प्रियांसु र उनका ८ वर्षीय भाइ दिव्यांशुलाई उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि दुवैलाई विराटनगर रेफर गरिएको थियो।
उपचारका क्रममा प्रियांसुको मृत्यु भएको हो। उनका भाइ दिव्यांशुको स्वास्थ्य अवस्था भने सुधारोन्मुख रहेको र उपचारपछि घर फर्काइएको परिवारले जनाएको छ।
आर्थिक अवस्था कमजोर रहेको परिवारलाई उपचार खर्च जुटाउन स्थानीयस्तरमा ‘दाजुभाइ बचाउ अभियान’ समेत सञ्चालन गरिएको थियो।
बालकको मृत्यु भएपछि स्थानीयवासीले सिरहामै पर्याप्त एन्टिस्नेक भेनमको व्यवस्था गर्न र सर्पदंशका बिरामीका लागि प्रभावकारी उपचार सेवा सुनिश्चित गर्न माग गरेका छन्।










