उखुको नयाँ समर्थन मूल्य तोक्ने तयारी, ११ जिल्लामा स्थलगत अध्ययन
सरकारले यस वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य तोक्ने तयारी अघि बढाएको छ। उखु किसानलाई उचित मूल्य दिलाउने उद्देश्यले कृषि विभागले उखु उत्पादन बढी हुने तराईका ११ जिल्लामा स्थलगत अध्ययन सुरु गरेको हो।
विभागका अनुसार टोलीले सुनसरी, मोरङ, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा पुगेर किसानको वास्तविक उत्पादन लागत तथा अन्य खर्चको विवरण संकलन गरिरहेको छ।
विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार सर्वेक्षणबाट प्राप्त तथ्यांकका आधारमा यस वर्षको उखुको न्यूनतम समर्थन मूल्य प्रस्ताव गरिनेछ। अध्ययनमा उत्पादन, ढुवानीलगायतका खर्च अघिल्ला वर्षको तुलनामा कति परिवर्तन भएको छ भन्ने विषयलाई समेत समेटिनेछ।
अध्ययन प्रतिवेदन तयार भएपछि थप छलफल र सहमतिका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयमा पेस गरिनेछ। त्यसपछि मन्त्रिपरिषद्ले उखुको खरिद मूल्य र किसानलाई उपलब्ध गराउने अनुदान रकमको अन्तिम टुंगो लगाउनेछ।
सरकारले कृषिउपजको बजार मूल्य घट्दा किसानलाई घाटा हुन नदिन र उनीहरूको लगानी सुरक्षित गर्न हरेक वर्ष उखु, धानलगायत बालीको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ।
अघिल्लो वर्ष सरकारले उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ र किसानलाई उपलब्ध गराउने अनुदान ७० रुपैयाँ तोकेको थियो।










