मधेसमा उद्योग बन्द हुने क्रम बढ्यो, एक वर्षमा झण्डै २ हजारको लगत कट्टा

कोल्हवी न्यूज
२०८३ भाद्र ९, मंगलवार १०:५२ गते

आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा कमी र पुँजी अभावका कारण मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग तथा वाणिज्य क्षेत्रका १ हजार ९३८ व्यवसाय बन्द भएका छन्।

मधेस प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आवमा ८२१ उद्योग र १ हजार ११७ वाणिज्य फर्मको लगत कट्टा भएको हो।

यद्यपि, सोही अवधिमा प्रदेशमा ५ हजार ६८ नयाँ उद्योग दर्ता भएका छन्। पर्सामा सबैभन्दा धेरै १ हजार १०१ उद्योग दर्ता हुँदा धनुषामा ७७७, बारामा ६३९, सर्लाहीमा ६३६, सिरहामा ५५४, रौतहटमा ५३३, महोत्तरीमा ५१४ र सप्तरीमा ३१४ उद्योग दर्ता भएका छन्।

गत आर्थिक वर्षमा ७ हजार ५४० उद्योग नवीकरण भएका छन्। वाणिज्यतर्फ ६ हजार १२२ प्राइभेट फर्म र १८ साझेदारी फर्म नयाँ दर्ता भएका छन् भने ११ हजार १४४ फर्म नवीकरण भएका छन्।

नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरणलगायतबाट प्रदेश सरकारले ५ करोड २६ लाख ४९ हजार ५६२ रुपैयाँ राजस्व संकलन गरेको छ।

मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोका अनुसार आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट पर्याप्त ऋण लगानी नहुनु, पुँजीको अभाव र स्थानीय तहबाट समेत उद्योग दर्ता हुने क्रम बढ्नुजस्ता कारणले उद्योग–व्यवसायको लगत कट्टा हुने क्रम बढेको हो।

मधेस प्रदेशको आधिकारिक उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले उद्योग दर्ता तथा व्यवस्थापनसम्बन्धी सेवा र विवरण उपलब्ध गराउँदै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*