बागमतीका मुख्यमन्त्री थापामगरको विश्वासको मत फेरि सर्यो, आज ४ बजे प्रदेशसभा बैठक
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने प्रक्रिया फेरि सरेको छ । सोमबार बस्न नसकेको प्रदेशसभा बैठक आज मंगलबार दिउँसो ४ बजेका लागि बोलाइएको छ ।
विश्वासको मत लिन ढिलाइ हुनुमा बाहिरबाट राप्रपाभित्रको विवादलाई मुख्य कारण मानिए पनि सत्तारुढ नेकपाभित्रको असन्तुष्टिले समेत मुख्यमन्त्रीलाई दबाबमा पारेको बताइएको छ ।
नेकपाका केही प्रदेशसभा सदस्यले आफूहरूलाई सरकारमा उचित जिम्मेवारी र मन्त्री बन्ने सुनिश्चितता नभएसम्म विश्वासको मतका पक्षमा उभिन कठिन हुने धारणा राखेको स्रोतको भनाइ छ । सरकारमा शक्ति बाँडफाँट र मन्त्री छनोटमा आफूहरूलाई बेवास्ता गरिएको भन्दै उनीहरू असन्तुष्ट बनेका हुन् ।
मुख्यमन्त्री थापामगरलाई राप्रपाका ६ सांसदले समर्थन गर्ने दाबी गरिएको छ । यद्यपि राप्रपाभित्रै सरकारलाई समर्थन गर्ने विषयमा देखिएको अन्योलले विश्वासको मत सुनिश्चित हुन सकेको छैन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि प्रक्रियामा सहभागी नहुने चेतावनी दिएको छ ।
१०४ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । तीन दलका ६३ सांसदको समर्थनमा बनेको सरकारलाई अहिले आफ्नै गठबन्धनभित्रको असन्तुष्टि व्यवस्थापन गर्दै विश्वासको मत जुटाउनुपर्ने चुनौती छ ।
विश्वासको मत जुटाउन मन्त्रालयको संख्या बढाउनुपर्ने मागसमेत उठेको छ । हाल मुख्यमन्त्रीसहित आठ मन्त्रालय रहेकोमा ११ पुर्याउन सत्तारुढ पक्षबाट दबाब भए पनि मुख्यमन्त्री थापामगरले मन्त्रालयको संख्या नबढाउने अडान राख्दै आएका छन् ।
आज दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकले थापामगर नेतृत्वको सरकारको भविष्यबारे महत्वपूर्ण निर्णय गर्नेछ ।










