बारा १ का माननीय धिमालको स्वकीय सचिवमा सुरेन्द्र रौनियार छनौट

कोल्हवी न्यूज
२०८३ भाद्र ७, आईतवार १४:४२ गते

बारा — प्रतिनिधिसभा सदस्य गणेश धिमालको स्वकीय सचिव छनौट समितिले श्री सुरेन्द्र रौनियारलाई स्वकीय सचिव पदका लागि छनौट गरेको छ।

 

 

स्वकीय सचिव पदका लागि गत २०८३ साउन २२ गते आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरिएको थियो। आवेदन दिने अन्तिम मिति साउन ३० गतेसम्म तोकिएकोमा उक्त अवधिभित्र ३७ जना आवेदकले ह्वाट्सएप र इमेलमार्फत आवेदन दिएका थिए।

 

 

प्राप्त आवेदनमध्ये निर्धारित मापदण्ड तथा प्रक्रिया पूरा गरेका २१ जनालाई छनौट गरी (सर्टलिस्ट) भदौ २ गते अनलाइन माध्यमबाट अन्तर्वार्ता तथा परीक्षा सञ्चालन गरिने सूचना प्रकाशित गरिएको थियो।

 

 

निर्धारित कार्यतालिकाअनुसार भदौ २ गते बिहान ७ः३० बजेदेखि ९ः३० बजेसम्म ह्वाट्सएपमार्फत अनलाइन परीक्षा सञ्चालन गरिएको थियो। सर्टलिस्टमा परेका २१ जनामध्ये १९ जना परीक्षामा सहभागी भएका थिए।

 

 

परीक्षामा सहभागी उम्मेदवारहरूको मूल्याङ्कनका आधारमा सुरेन्द्र रौनियारलाई प्रतिनिधिसभा सदस्य गणेश धिमालको स्वकीय सचिव पदका लागि छनौट गरिएको छनौट समितिले जनाएको छ।

 

 

स्वकीय सचिव छनौट समितिका संयोजकसमेत रहेका प्रतिनिधिसभा सदस्य गणेश धिमालले छनौट प्रक्रियामा सहभागी सम्पूर्ण आवेदक तथा सरोकारवालालाई जानकारी गराउँदै रौनियार छनौट भएको औपचारिक जानकारी दिएका हुन्।

 

 

 

छनौट समितिले आवेदनदेखि परीक्षा तथा मूल्याङ्कनसम्मको प्रक्रिया निर्धारित मापदण्डअनुसार सम्पन्न गरिएको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*