युरिया मल तस्करीमा फेरि दुई नेपाली पक्राउ,१९ बोरा मलसहित चार साइकल बरामद
सञ्जय मिश्रा:रौतहट,भारतबाट नेपालतर्फ अवैध रूपमा युरिया मल र खैनी ल्याउँदै गरेका दुई नेपाली नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले पक्राउ गरेको छ। एसएसबीले उनीहरूको साथबाट १९ बोरा युरिया मल, ५० किलो खैनी र चारवटा साइकल बरामद गरेको जनाएको छ।
भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको अगरवा क्षेत्रमा खटिएको एसएसबीको ७१औँ वाहिनीको टोलीले शुक्रबार साँझ सीमा स्तम्भ नम्बर ३६० बाट करिब २०० मिटर भारततर्फ नेपालमा सामान लैजाने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका क्षेत्रका १८ वर्षीय आदित्य नारायण मुखिया र १९ वर्षीय अमिरखा मुखिया रहेका छन्। एसएसबीका अनुसार दुवै नानसागरा घाटका बासिन्दा हुन्।
बरामद १९ बोरा युरिया मलमा प्रतिबोरा ४५ किलोका दरले कुल ८ सय ५५ किलो मल रहेको जनाइएको छ। भारतबाट नेपालमा रासायनिक मलको अवैध ओसारपसार बढिरहेका बेला भएको यो कारबाहीलाई सीमा क्षेत्रमा महत्वपूर्ण मानिएको छ।
यसैबीच, सोही सीमाक्षेत्रको बडहरवा बोर्डरमा एसएसबीले गरेको अर्को कारबाहीमा नेपालतर्फ लैजान लागिएको २४ बोरा युरिया मल, एउटा मोटरसाइकल र चारवटा साइकल बरामद गरिएको छ। सुरक्षाकर्मीलाई देखेपछि तस्करहरूले सामान छाडेर भाग्न खोजेका थिए। पीछा गर्ने क्रममा भारतीय नागरिक बीजबनी गाउँका गोपाल राय पक्राउ परेको एसएसबीले जनाएको छ।
सीमा क्षेत्रमा अवैध गतिविधि बढेपछि एसएसबीले निगरानी र गस्तीलाई थप कडाइ गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरू तथा बरामद सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि सीमा शुल्क कार्यालय, मोतिहारीमा बुझाइएको एसएसबीले जनाएको छ।










