रौतहट चन्द्रपुर नगरको अवरोध हट्दै, अब नगरको कामले लिनेछ गति
रौतहट । लामो समयदेखि आर्थिक कारोबारमा देखिएको अवरोध हटाउँदै चन्द्रपुर नगरपालिकाको बैंक खाता सञ्चालन गर्ने तयारी गरिएको छ। नगरपालिकाभित्रको प्रशासनिक असमझदारीका कारण रोकिएको आर्थिक गतिविधि सञ्चालनका लागि जनप्रतिनिधिहरूबीच सहमति र समन्वय बढेपछि खाता खुल्ने अवस्था बनेको हो।
नगर प्रमुख सञ्जयकुमार काफ्ले र प्रमुख प्रशासकीय अधिकृत भद्रिराज ढकालबीचको असमझदारीले नगरपालिकाको नियमित काम प्रभावित भएपछि कार्यपालिका सदस्य तथा भौतिक पूर्वाधार समिति संयोजक कल्याण कुश्वारले समस्या समाधानका लागि पहल गरेका थिए। वडा नम्बर १ का अध्यक्ष बलराम राउतलगायत कार्यपालिका सदस्यहरूले समेत खाता सञ्चालनलाई प्राथमिकतामा राखेर छलफल अघि बढाएका थिए।
आर्थिक कारोबार रोकिँदा कर्मचारीको तलबभत्ता, विभिन्न विकास योजनाको भुक्तानी, उपभोक्ता समिति तथा निर्माण व्यवसायीको रकम निकासा र नगरपालिकाका दैनिक प्रशासनिक काम प्रभावित भएका थिए। योजना सम्पन्न भए पनि भुक्तानी हुन नसक्दा सम्बन्धित पक्षले लामो समयदेखि समस्या भोग्दै आएका थिए।
त्यसैगरी, चन्द्रपुर क्षेत्रमा लम्पी स्किन रोगको समस्या देखिएपछि पशु उपचार, औषधि व्यवस्थापन र रोग नियन्त्रणका लागि तत्काल आर्थिक स्रोत परिचालन गर्नुपर्ने अवस्था थियो। खाता सञ्चालन नहुँदा यस्ता अत्यावश्यक कार्यक्रमसमेत प्रभावित हुने जोखिम बढेको थियो।
जनप्रतिनिधिहरूका अनुसार अब सोमबारदेखि मंगलबारसम्ममा नगरपालिकाको बैंक खाता सञ्चालनमा ल्याउने तयारी छ। खाता खुलेपछि रोकिएका भुक्तानी, विकास निर्माणका काम र नियमित प्रशासनिक गतिविधि क्रमशः अघि बढ्ने अपेक्षा गरिएको छ।
कुश्वारले नगरपालिकाभित्र देखिएको विवादलाई व्यक्तिगत विषयभन्दा संस्थागत समस्या मानेर समाधान गर्नुपर्ने बताएका छन्। उनका अनुसार नगरपालिकाको काम कुनै पनि आन्तरिक असमझदारीका कारण रोकिनु हुँदैन।
उनले खाता सञ्चालनपछि रोकिएका योजनालाई प्राथमिकताका आधारमा अघि बढाउनुपर्ने र आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन जनप्रतिनिधि तथा प्रशासनबीच स्पष्ट समन्वय आवश्यक रहेको बताए।
चन्द्रपुरको आर्थिक गतिरोध अन्त्यतर्फ अघि बढेसँगै रोकिएका विकास योजना, भुक्तानी र सेवा प्रवाहले पुनः गति लिने अपेक्षा गरिएको छ। अब नगरपालिकाको नेतृत्वसामु आर्थिक कारोबार खुलाउनेसँगै लामो समयदेखि थलिएको कामकाजलाई प्रभावकारी रूपमा अघि बढाउने चुनौती पनि थपिएको छ।










