पारदर्शिताको अभियान थालेको कलैया अस्पतालले रोक्यो दैनिक तथ्यांक सार्वजनिक गर्न

कोल्हवी न्यूज
२०८३ भाद्र ५, शुक्रबार १५:५२ गते

कलैया । मधेश प्रदेश सरकारअन्तर्गतको प्रादेशिक अस्पताल कलैयाले नियमित रूपमा सार्वजनिक गर्दै आएको दैनिक सेवा प्रवाहको विवरण प्रकाशन गर्न छाडेको छ। अस्पतालले केही दिन उत्साहका साथ तथ्यांक सार्वजनिक गरे पनि पछिल्लो समय निरन्तरता नदिएपछि अस्पतालको पारदर्शिता र कार्यशैलीमाथि प्रश्न उठ्न थालेको छ।

अस्पताल प्रशासनले साउन २६ देखि भदौ १ गतेसम्मको दैनिक सेवा विवरण आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको थियो। तर, त्यसयता भदौ २, ३ र ४ गतेको तथ्यांक सार्वजनिक गरिएको छैन। भदौ ५ गतेसमेत भइसक्दा पछिल्ला दिनको आधिकारिक विवरण सार्वजनिक हुन सकेको छैन।

अस्पतालले दैनिक सेवा प्रवाह, उपचारका लागि आएका बिरामीको संख्या, शल्यक्रियालगायतका महत्त्वपूर्ण विवरण सार्वजनिक गर्न थालेपछि सर्वसाधारणले अस्पतालको सेवा अवस्थाबारे सहजै जानकारी पाउने वातावरण बनेको थियो।

तर, केही दिनमै तथ्यांक प्रकाशन रोकिँदा अस्पतालले सुरु गरेको पारदर्शिताको प्रयासमा निरन्तरता नदेखिएको भन्दै आलोचना हुन थालेको छ। सरकारी निकायमा नयाँ काम सुरु गर्ने तर त्यसलाई निरन्तरता नदिने प्रवृत्तिको उदाहरण प्रादेशिक अस्पताल कलैया पनि बनेको भन्दै प्रश्न उठाइएको छ।

दैनिक सेवा विवरण सार्वजनिक गर्ने कार्यलाई निरन्तरता नदिनुको कारणबारे अस्पताल प्रशासनबाट स्पष्ट जानकारी सार्वजनिक भएको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*