ग्यास सिलिन्डरमा डिजिटल ट्रयाकिङ लागू गर्न आयल निगमलाई निर्देशन

कोल्हवी न्यूज
२०८३ भाद्र ४, बिहीबार १६:२४ गते

प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एलपीजी ग्यासको व्यवस्थापन, सुरक्षा र खपतलाई व्यवस्थित गर्न डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको छ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति रहबर अन्सारीले प्रत्येक ग्यास सिलिन्डरको छुट्टै डिजिटल प्रोफाइल तयार गरी लगत राख्न निर्देशन दिएका हुन्।

उनले व्यावसायिक र घरायसी प्रयोजनका सिलिन्डर छुट्याउँदै सिलिन्डरको उत्पत्ति, भरिएको मिति र अन्तिम परीक्षणको विवरण ट्रयाकिङ प्रणालीबाट सहजै पत्ता लगाउन सकिने व्यवस्था गर्नुपर्ने बताए।

अन्सारीका अनुसार डिजिटल ट्रयाकिङले सिलिन्डरको घुम्ती दर बढाउनुका साथै बजारमा मौज्दात व्यवस्थापन र दुर्घटनाको जोखिम न्यूनीकरणमा समेत सहयोग पुग्नेछ।

उनले व्यावसायिक प्रयोजनका सिलिन्डर नाफासहित बिक्री गर्ने र घरायसी उपभोक्तालाई राहत दिने गरी मूल्य तथा वितरण प्रणाली व्यवस्थित गर्नुपर्ने बताए। यसबाट नेपाल आयल निगमको वित्तीय अवस्था सुधारमा समेत सहयोग पुग्ने उनको भनाइ छ।

कुरियर सेवामा पार्सल ट्रयाक गरेजस्तै प्रत्येक ग्यास सिलिन्डरलाई छुट्टै ट्रयाकिङ आईडीमार्फत निगरानी गर्न सकिने बताउँदै अन्सारीले स्टक व्यवस्थापनदेखि भुक्तानी प्रणालीसम्मलाई व्यवस्थित बनाउन सकिने उल्लेख गरे।

उनले आगामी १५ देखि २० वर्षसम्म एलपीजी ग्यासको आवश्यकता रहने भन्दै निगमलाई एक वर्षभित्र ग्यास वितरण तथा व्यवस्थापनसम्बन्धी समस्या समाधान गरी प्रणाली व्यवस्थित गर्न निर्देशन दिए।

व्यावसायिक र घरायसी सिलिन्डरको आकार तथा रङ फरक बनाएर बजार अनुगमन प्रभावकारी बनाउन सकिने सुझाव पनि अन्सारीले दिए। उनले उद्योगी–व्यवसायीलाई नयाँ प्रविधि र राज्यका नीतिसँग अभ्यस्त हुँदै निगमसँग सहकार्य गर्न आग्रह गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*