राप्रपाको निर्णय उल्लंघन गर्दा उद्धव थापाको सांसद पद गुम्यो
हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई प्रदेश सांसद पदबाट हटाउने निर्णय गरेको छ। पार्टीले थापालाई पार्टी सदस्यबाट समेत निलम्बन गरेको जनाएको छ।
पार्टीको केन्द्रीय निर्णय र निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै राप्रपाले थापामाथि कारबाही गरेको हो। यसअघि राप्रपा बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेको थियो।
तर थापाले पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएपछि राप्रपाले अनुशासनको कारबाही अघि बढाएको हो। पार्टीले सरकारमा सहभागी हुने वा पार्टीको निर्देशनविपरीत गतिविधि गर्ने अन्य सांसदलाई समेत कारबाही गर्ने चेतावनी दिएको छ।










