विद्यार्थीको विवरण जन्मदर्ताअनुसार राख्न जीतपुरसिमराको निर्देशन

कोल्हवी न्यूज
२०८३ भाद्र २, मंगलवार १५:३२ गते

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई विद्यार्थीको व्यक्तिगत विवरण अद्यावधिक गर्दा जन्मदर्ता प्रमाणपत्रमा उल्लेख भएको विवरणलाई आधार बनाउन निर्देशन दिएको छ।

उपमहानगरपालिकाको पञ्जीकरण शाखाकी अधिकृत दुर्गा न्यौपानेले पत्राचार गर्दै आधारभूत तहमा अध्ययनरत विद्यार्थीको व्यक्तिगत विवरण जन्मदर्ता प्रमाणपत्रमा उल्लेख भएअनुसार कायम गर्न विद्यालयहरूलाई आग्रह गरेकी हुन्।

उपमहानगरपालिकाले जन्मदर्ता प्रमाणपत्रबाहेक अन्य झुटा विवरण वा कागजातका आधारमा व्यक्तिगत घटना दर्ता प्रमाणपत्र प्राप्त गर्ने प्रयोजनका लागि सिफारिस गर्ने वा गराउने कार्य कानुनबमोजिम दण्डनीय हुने जनाएको छ।

झुटा विवरण वा कागजात पेस गरी सिफारिस गरेको पाइएमा सम्बन्धित व्यक्तिलाई दुई वर्षदेखि पाँच वर्षसम्म कैद, २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको पत्रमा उल्लेख छ।

त्यसैले विद्यार्थीको व्यक्तिगत विवरण अद्यावधिक गर्दा तथा कुनै पनि प्रयोजनका लागि सिफारिस गर्दा जन्मदर्ता प्रमाणपत्रमा कायम रहेको विवरणलाई नै आधार बनाउन उपमहानगरपालिकाले सबै विद्यालयलाई निर्देशन दिएको हो।

विद्यालयबाट हुने सिफारिसमा गलत विवरण प्रयोग हुन नदिन तथा व्यक्तिगत घटना दर्तासम्बन्धी अभिलेखलाई व्यवस्थित र कानुनसम्मत बनाउन यस्तो व्यवस्था गरिएको उपमहानगरपालिकाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*