भारतमा बोलबम यात्राका क्रममा बसबाट खसेर बाराका श्रद्धालुको मृत्यु
बारा । भारतको अरेराजमा बोलबम यात्राका क्रममा बसबाट खसेर बसकै पछाडिको चक्काले किच्दा बाराका एक श्रद्धालुको मृत्यु भएको छ।
मृत्यु हुनेमा आदर्श कोतवाल गाउँपालिका–३, भटिनियाका वनारसी राय यादव रहेका छन्।
गाउँलेहरूसँगै बस रिजर्भ गरेर बोलबम यात्रामा गएका यादव भदौ ६ गते दिउँसो करिब ३ बजे बसबाट खसेका थिए। बसबाट खसेलगत्तै पछाडिको चक्काले किच्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि नेपाल ल्याइएको थियो।
भदौ ७ गते बिहान वीरगञ्जस्थित नेशनल मेडिकल कलेज पुर्याइएका यादवलाई चिकित्सकले उपचारकै क्रममा मृत घोषणा गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।










