साउनमा ७० हजारभन्दा बढी नेपालीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति

कोल्हवी न्यूज
२०८३ भाद्र २, मंगलवार १५:३० गते

साउन महिनामा ७० हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन्।

वैदेशिक रोजगार विभागका अनुसार पुनः श्रम स्वीकृतिसहित साउनमा ७० हजार ४४१ जनाले श्रम स्वीकृति लिएका हुन्। श्रम स्वीकृति लिनेमा ६० हजार ४७२ पुरुष र ९ हजार ९६९ महिला रहेका छन्।

विभागका अनुसार साउनमा ४२ हजार ६९३ जनाले पहिलोपटक श्रम स्वीकृति लिएका छन् भने २७ हजार ७४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेमध्ये २९ हजार ४४७ जना म्यानपावर कम्पनीमार्फत गएका छन्। त्यस्तै, १२ हजार ४४२ जनाले व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएका छन्। सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत ७१२ जनाले श्रम स्वीकृति लिएका छन्।

गन्तव्य मुलुकतर्फ भने साउनमा सबैभन्दा धेरै नेपाली संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका छन्। यूएईका लागि १८ हजार ७८४ जनाले श्रम स्वीकृति लिएका छन्।

त्यसपछि मलेसियाका लागि १२ हजार ४९८, कतारका लागि १० हजार ३६० र साउदी अरबका लागि ८ हजार ६१३ जनाले श्रम स्वीकृति लिएका छन्।

अघिल्लो महिना असारमा ६९ हजार ३६२ जनाले श्रम स्वीकृति लिएका थिए। यस आधारमा साउनमा श्रम स्वीकृति लिनेको संख्या असारको तुलनामा १ हजार ७९ जनाले बढेको देखिन्छ।

यस्तै, गत आर्थिक वर्ष २०८२/८३ मा कुल ७ लाख ९२ हजार १८७ जना नेपालीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*