नेपालमा बिक्री हुने बीवाईडीका विद्युतीय सवारी साधन अब सिधै इन्टरनेटसँग जोडिने

कोल्हवी न्यूज
२०८३ भाद्र २, मंगलवार १३:३४ गते

नेपालमा बिक्री हुने बीवाईडीका विद्युतीय सवारी साधन अब सिधै इन्टरनेटसँग जोडिने भएका छन्। बीवाईडीका गाडीमा एनसेलको इन्टरनेट अफ थिङ्स (आईओटी) सिम जडान गर्ने गरी एनसेल र बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कबीच साझेदारी भएको हो।

सम्झौताअनुसार नेपालमा बिक्री हुने प्रत्येक नयाँ बीवाईडी सवारी साधनमा एनसेलको आईओटी सिम जडान गरिनेछ। यससँगै चालक तथा यात्रुले अतिरिक्त उपकरण, मोबाइल फोन वा वाई–फाई हटस्पटको सहारा नलिई गाडीको सिस्टमबाटै अनलाइन सेवा प्रयोग गर्न सक्नेछन्।

गाडीको इन्फोटेनमेन्ट सिस्टममार्फत युट्युब, स्पोटिफाइ, काराओकेलगायत डिजिटल मनोरञ्जनका सेवा तथा बीवाईडी एप इकोसिस्टम प्रयोग गर्न सकिने कम्पनीहरूले जनाएका छन्।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताका अनुसार यो साझेदारीले बीवाईडीका गाडीमा स्मार्ट कनेक्टिभिटी, इन्फोटेनमेन्ट, सुरक्षा र इन्टेलिजेन्ट मोबिलिटीको अनुभव थप सहज बनाउनेछ। प्रत्यक्ष सवारी कनेक्टिभिटी उपलब्ध हुने भएकाले बाह्य हटस्पट वा मोबाइल डेटामा निर्भर हुनुपर्ने अवस्था कम हुने उनको भनाइ छ।

स्थानीय नेटवर्कमार्फत गाडी कनेक्ट हुने भएकाले यात्राका क्रममा तथा ट्राफिकमा रोकिँदा नेभिगेसनलगायत सेवाको प्रयोगमा समेत सहजता हुने कम्पनीले जनाएको छ।

यो सुविधा नयाँ मात्र नभई यसअघि बीवाईडीका गाडी खरिद गरिसकेका ग्राहकले पनि लिन सक्नेछन्। पुराना सवारीधनीले देशभर रहेका १३ वटा आधिकारिक सर्भिस सेन्टरमा गएर एनसेलको आईओटी सिम जडान गरी सेवा लिन सक्नेछन्।

ग्राहकको आवश्यकता र सवारी साधनअनुसार कनेक्टिभिटी प्लान, सेवा अवधि तथा शुल्क निर्धारण हुने जनाइएको छ।

साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बीवाईडी प्राविधिक नवप्रवर्तनमा केन्द्रित रहेको उल्लेख गर्दै एनसेलसँगको सहकार्यले ग्राहकको सवारी अनुभवलाई थप उन्नत बनाउने बताए।

उनका अनुसार भरपर्दो इन-भेइकल कनेक्टिभिटीले बीवाईडीका इन्टेलिजेन्ट सुविधाको पूर्ण उपयोग गर्न ग्राहकलाई सहज हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*