बागमती प्रदेशको मुख्यमन्त्री बानियाँको राजीनामा

कोल्हवी न्यूज
२०८३ भाद्र १, सोमबार १७:०० गते

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मतको सामना नगरी पदबाट राजीनामा दिने घोषणा गरेका छन्। सोमबार दिउँसो बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै बानियाँले राजनीतिक स्थायित्वलाई ध्यानमा राख्दै मुख्यमन्त्री पद त्याग गर्ने निर्णयमा पुगेको बताएका हुन्।

प्रदेशसभामा आफ्नो पक्षमा आवश्यक बहुमत नपुग्ने निश्चित भएपछि उनले विश्वासको मतसम्बन्धी प्रक्रिया अघि नबढाई राजीनामाको घोषणा गरेका हुन्।

१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठन वा जोगाउन कम्तीमा ५३ सांसदको समर्थन आवश्यक हुन्छ। तर बानियाँको पक्षमा नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका दुई गरी ३८ सांसद मात्र देखिएका थिए। आवश्यक बहुमतका लागि थप १५ सांसद जुटाउन नसकेपछि बानियाँले पदबाट हट्ने निर्णय गरेका हुन्।

बानियाँको सरकारलाई थप संकटमा पार्ने निर्णय सोमबार बिहानै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको थियो। राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले बानियाँलाई विश्वासको मत नदिने निर्णय गर्दै आफ्ना सांसदलाई तटस्थ बस्न ह्विप जारी गरेको थियो।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको निर्देशनअनुसार राप्रपाका १३ सांसद विश्वासको मतको प्रस्तावमा तटस्थ रहने भएपछि बानियाँको पक्षमा बहुमत जुटाउने सम्भावना झनै कमजोर बनेको थियो।

यसअघि गत साउन ६ गते तत्कालीन सत्ता साझेदार नेकपा एमालेले आफ्ना ६ मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउँदै समर्थनसमेत फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसपछि बागमतीमा सत्ता समीकरण परिवर्तनका लागि दलहरूबीच निरन्तर छलफल हुँदै आएको थियो।

एमाले र नेकपाबीच नयाँ गठबन्धन निर्माण भए पनि सरकार गठनका लागि आवश्यक स्पष्ट बहुमतको अवस्था भने अझै बनेको छैन।

संविधानअनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यतामा रहेका बानियाँले भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका थिए। तर, बहुमत सुनिश्चित गर्न नसकेपछि उनले मतदानको चरणमै नपुगी राजीनामा घोषणा गरेका हुन्।

बानियाँको राजीनामासँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अघि बढ्ने भएको छ। अब प्रदेश प्रमुखले संविधानबमोजिम नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नेछन्।

प्रदेशसभामा कांग्रेस सबैभन्दा ठूलो दल भए पनि कुनै एक दलसँग स्पष्ट बहुमत नरहेकाले नयाँ सरकार गठनका लागि सत्ता गठबन्धन र सांसदहरूको समर्थन जुटाउने खेल निर्णायक बन्ने देखिएको छ। बानियाँको बहिर्गमनसँगै बागमतीको सत्ता समीकरण फेरि नयाँ चरणमा प्रवेश गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*