कांग्रेस इतर समूहको पाँच प्रस्ताव : महाधिवेशनदेखि सनातन धर्मसम्म
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय सम्मेलनले पाँच वटा प्रस्ताव पारित गरेको छ। साउन २९ देखि ३१ गतेसम्म सम्पन्न सम्मेलनले पार्टीको १५औँ महाधिवेशन, राष्ट्रिय एकता, सनातन धर्म र संस्कृति तथा संविधान संशोधनलगायतका विषय समेटिएका प्रस्ताव पारित गरेको हो।
सम्मेलनले पूर्वसभापति शेरबहादुर देउवाको सभापतित्वमा १५औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि देउवाको निर्देशनमा पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजनमा अघि बढाउने प्रस्तावमा उल्लेख छ।
यस्तै, राष्ट्रिय तथा लोकतन्त्रवादी शक्तिसँग संवाद गरी राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणमा सक्रिय रहने निर्णय सम्मेलनले गरेको छ।
सम्मेलनले नेपालको सनातन धर्म, संस्कृति तथा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव संरक्षण गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ। वर्तमान संविधानमा जनअपेक्षाअनुसार आवश्यक संशोधन गर्न सम्बन्धित पक्षसँग संवाद गर्ने प्रस्ताव पनि पारित गरिएको छ।
पारित प्रस्तावलाई लिखित रूप दिने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा उमाकान्त चौधरी, सीता राना, मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइकेल रहेको समितिलाई दिइएको छ।










