हेटौंडामा‘शून्य फोहोर’अभियान:टोल-टोलमा सरसफाइको लहर
हेटौंडा।पर्यटन वर्ष २०८३ लाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिकामा ‘शून्य फोहोर हेटौंडा’ अभियान सुरु भएको छ। टोल विकास संस्था नगर समन्वय समितिको संयोजनमा सुरु भएको अभियानले हेटौंडालाई स्वच्छ, सफा र पर्यटकीय शहरका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।
अभियानको सुरुवातसँगै हेटौंडा उपमहानगरपालिका वडा नं. ९ र ११ मा बृहत् सरसफाइ कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी, टोल विकास संस्था, विभिन्न सामाजिक संघ–संस्था तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीना कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वली, वडा नं. ३ का अध्यक्ष ढलकबहादुर थापा, वडा नं. ९ का अध्यक्ष सुकराम केसी, वडा नं. ११ का अध्यक्ष जुना दाहाललगायतको सहभागिता थियो।
प्रमुख जिल्ला अधिकारी अधिकारीले हेटौंडालाई स्वच्छ र सुन्दर बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले सरसफाइलाई औपचारिक कार्यक्रमका रूपमा मात्र सीमित नगरी नागरिकको दैनिक व्यवहार र जीवनशैलीसँग जोड्नुपर्नेमा जोड दिनुभयो।
नगर प्रमुख लामाले पर्यटन वर्ष सफल बनाउन शहरको स्वच्छता र सौन्दर्य महत्वपूर्ण रहेको बताउनुभयो। उहाँका अनुसार व्यवस्थित शहर, स्वच्छ वातावरण र नागरिकको सक्रिय सहभागिताबाट हेटौंडालाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले अभियान हेटौंडाका प्रत्येक टोलसम्म पुर्याइने बताउनुभयो। उहाँका अनुसार विभिन्न टोल विकास संस्थाले आफ्नै क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गर्दै फोहोर व्यवस्थापन र वातावरण संरक्षणबारे नागरिकलाई सचेत बनाउनेछन्।
‘शून्य फोहोर हेटौंडा’ अभियानले पर्यटन वर्ष २०८३ सँगै हेटौंडाको स्वच्छता, सौन्दर्य र वातावरणीय सुधारमा दीर्घकालीन योगदान पुर्याउने अपेक्षा गरिएको छ।










