आज प्रतिनिधिसभाका तीन समितिको बैठक, पर्यटन विधेयकदेखि कारागार र विद्युत् पोल व्यवस्थापनसम्म छलफल

कोल्हवी न्यूज
२०८३ श्रावण २२, शुक्रबार ०७:२१ गते

प्रतिनिधिसभाअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। बैठकमा पर्यटन विधेयक, कारागार तथा हिरासतमा रहेका कैदीबन्दीको मानवअधिकार अवस्था र सडक निर्माणमा ढिलाइ गरिरहेका विद्युत् पोल व्यवस्थापनलगायत विषयमा छलफल हुने कार्यसूची रहेको छ।

बिहान १०:३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति को बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषय विज्ञहरूसँग विस्तृत छलफल गरिनेछ।

यस्तै, बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समिति को बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदीबन्दीको मानवअधिकार अवस्थाबारे अध्ययन उपसमितिको प्रतिवेदन प्रस्तुत गरी छलफल गरिनेछ। साथै समितिले नयाँ उपसमिति गठन गर्ने कार्यसूची पनि तय गरेको छ।

त्यसैगरी, बिहान १० बजे नै बस्ने पूर्वाधार विकास समिति को बैठकमा विद्युत् वितरण लाइन र पोल समयमै व्यवस्थापन नहुँदा सडक निर्माणमा भइरहेको ढिलाइबारे ऊर्जा मन्त्री र मन्त्रालयका सचिवसँग छलफल गर्ने कार्यक्रम रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*