मधेसमा नयाँ शक्ति निर्माणको प्रयास, सात दलले बनाउँदै ‘अग्रगामी मोर्चा’
पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकेका मधेसकेन्द्रित र वामपन्थी पृष्ठभूमिका सात राजनीतिक दलले नयाँ राजनीतिक सहकार्यको घोषणा गर्ने तयारी गरेका छन्।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, सीके राउतको जनमत पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल, जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी, प्रभु साहको आम जनता पार्टी, रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टीले साउन २३ गते काठमाडौंमा ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने तयारी गरेका हुन्।
मोर्चामा सहभागी दलहरूले संघीयता, समावेशी लोकतन्त्र, सामाजिक न्याय र पहिचानका मुद्दामा साझा राजनीतिक एजेन्डा बनाएर अघि बढ्ने बताएका छन्। उनीहरूको दाबी छ, वर्तमान राजनीतिक संकटको समाधान खोज्न र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न नयाँ सहकार्य आवश्यक भएको हो।
निर्वाचनमा छुट्टाछुट्टै प्रतिस्पर्धा गर्दा प्रतिनिधिसभामा प्रभाव गुमाएका यी दलहरूले अब साझा शक्ति निर्माणमार्फत राजनीतिक प्रभाव र जनविश्वास पुनः स्थापित गर्ने लक्ष्य लिएका छन्। तर, विगतमा एकअर्काका प्रतिस्पर्धी र आलोचक रहेका दल तथा नेताहरू एउटै मोर्चामा आउनुले यसको दीर्घकालीन स्थायित्वमाथि प्रश्न पनि उठेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार मोर्चाको सफलता घोषणा समारोहको भीडले होइन, साझा एजेन्डा, संगठनात्मक एकता र मतदाताको विश्वास पुनः जित्न सक्ने क्षमताले निर्धारण गर्नेछ। स्रोत : नेपाल न्युज










