पालिका चुनावमा टिकट पाउन अब चार चरण पार गर्नुपर्ने रास्वपाको व्यवस्था

कोल्हवी न्यूज
२०८३ श्रावण २१, बिहीबार ०९:०२ गते

आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोटको नयाँ कार्यविधि सार्वजनिक गरेको छ। अब पार्टीबाट मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष वा वडा सदस्य बन्न चाहने व्यक्तिले सिधै टिकट नपाउने भएका छन्।

रास्वपाका अनुसार इच्छुक उम्मेदवारले सबैभन्दा पहिले सम्बन्धित पालिका वा वडाको ‘क्यान्डिडेट क्लब’ मा आवेदन दिनुपर्नेछ। आवेदन स्वीकृत भएपछि उम्मेदवारले चार चरणको मूल्याङ्कन प्रक्रिया पार गर्नुपर्ने व्यवस्था गरिएको छ।

नयाँ प्रणालीमा २५ प्रतिशत भाराङ्कको ‘लिडरशिप एकेडेमी’ परीक्षण अनिवार्य गरिएको छ। त्यसपछि २५ प्रतिशत भाराङ्कको ‘पोलिटिकल प्रोक्सिमिटी’ मार्फत जनसम्बन्ध र लोकप्रियताको मूल्याङ्कन हुनेछ। १० प्रतिशत भाराङ्क समावेशी सम्बोधन लाई दिइएको छ।

सबैभन्दा बढी ४० प्रतिशत भाराङ्क भने पार्टीको आन्तरिक निर्वाचन लाई दिइएको छ। यस मतदानमा क्रियाशील सदस्य, साङ्गठनिक कमिटीका प्रतिनिधि तथा विशिष्ट नेताहरू सहभागी हुनेछन्।

रास्वपाले आर्थिक चलखेल, धाँधली र गुटबन्दी नियन्त्रण गर्न कडा आचारसंहिता लागू गरिएको जनाएको छ। यद्यपि, विशेष परिस्थितिमा केन्द्रीय समितिको दुईतिहाइ बहुमतबाट सिधै उम्मेदवार चयन गर्न सकिने व्यवस्था पनि राखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*