पालुङ–वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटना हुँदा एकको मृत्यु, चालकको अवस्था मध्यम

कोल्हवी न्यूज
२०८३ श्रावण २०, बुधबार ११:२६ गते

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको डिब्बा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब २ः३० बजे पालुङबाट वीरगञ्जतर्फ तरकारी बोकेर जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक वर्षा र बाक्लो हुस्सुका कारण चिप्लिएर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल चण्डी खोलामा खसेको हो।

दुर्घटनाको जानकारी बिहान करिब ६ः३० बजे प्राप्त भएपछि प्रहरी चौकी भैँसे र इलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी निरीक्षक सनम मल्लको नेतृत्वमा खटिएको टोलीले उद्धार कार्य सञ्चालन गरेको थियो।

दुर्घटनामा ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–९ निवासी २३ वर्षीय रञ्जित कार्की घाइते भएका छन्। उनको दायाँ खुट्टा भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको छ।

ट्रकमा सवार चालकका काका राक्सिराङ–९ कै अन्दाजी ३६ वर्षीय अर्जुन कार्की गम्भीर घाइते भएका थिए। टाउको र शरीरका विभिन्न भागमा चोट लागेका उनलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा बिहान करिब ९ः१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार दुर्घटनाका बेला ट्रकमा चालकसहित दुई जना मात्रै सवार थिए। प्रारम्भिक अनुसन्धानमा वर्षा, बाक्लो हुस्सु र चिप्लो सडकका कारण दुर्घटना भएको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*