बागमती सरकारमा नयाँ समीकरण, शैलेन्द्रमान बज्राचार्य बने मन्त्री
हेटौंडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्मा फेरबदल भएको छ। भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले मंगलबार पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।
नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (क) अनुसार मन्त्री पौडेलले राजीनामा बुझाएकी हुन्। त्यसलगत्तै मुख्यमन्त्री बानियाँले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गर्दै हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन्।
पुनर्गठित मन्त्रिपरिषद्अनुसार मुख्यमन्त्री बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी आफैं राखेका छन्। शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी, उर्मिला नेपाललाई कृषि, पशुपन्छी, वन तथा वातावरण, कञ्चनचन्द्र बादेलाई स्वास्थ्य तथा सामाजिक विकास, प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना, सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात तथा कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
मुख्यमन्त्री बानियाँले सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी, समन्वयात्मक र परिणाममुखी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताएका छन्।










