‘मधेसमा घटना हुनासाथ किन चल्छ गोली?’ सांसद अमेरशकुमार सिंहको सरकारलाई प्रश्न

कोल्हवी न्यूज
२०८३ श्रावण १९, मंगलवार १७:०४ गते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमेरशकुमार सिंहले मधेस क्षेत्रमा कुनै पनि तनावपूर्ण घटना हुनासाथ गोली चलाउने प्रवृत्तिप्रति प्रश्न उठाउँदै सुरक्षा व्यवस्थामा सुधार गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद सिंहले मधेस प्रदेशमा साम्प्रदायिक तनाव, थारुहट आन्दोलन र मधेस आन्दोलनका क्रममा पनि सुरक्षाकर्मीले बल प्रयोगका अन्य विकल्पभन्दा सिधै गोली चलाउने गरेको टिप्पणी गरे। उनले प्रहरीलाई लाठी र अश्रुग्यासजस्ता दंगा नियन्त्रणका साधन पर्याप्त रूपमा उपलब्ध गराउन तथा आन्दोलन व्यवस्थापनसम्बन्धी प्रभावकारी तालिम दिन आवश्यक रहेको बताए।

उनले नेपालमा प्रहरीलाई घातक हतियार प्रयोग गर्ने अवस्था किन दोहोरिरहन्छ भन्ने प्रश्न गर्दै सुरक्षा निकायको तालिम र कार्यशैलीमाथि पुनरवलोकन गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद सिंहले मुलुकमा सामाजिक सद्भाव कायम राख्नु अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको उल्लेख गर्दै समुदाय–समुदायबीच द्वन्द्व होइन, गरिबी, पछौटोपन र असमानताविरुद्ध लड्नुपर्ने समय आएको बताए।

उनले धार्मिक तथा साम्प्रदायिक दंगा हुन नदिन राज्यले समयमै सतर्कता अपनाउनुपर्नेमा जोड दिँदै शान्ति, सहिष्णुता र सामाजिक एकतालाई प्राथमिकता दिन सबै पक्षलाई आग्रह गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*