प्रतिनिधिसभा आज बस्दै, भूमिहीन–सुकुमवासीको पुनःस्थापनाबारे जरुरी प्रस्तावमाथि छलफल
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुका साथै भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधानसँग सम्बन्धित जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ।
कार्यसूचीअनुसार प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन’ प्रतिनिधिसभामा प्रस्तुत गर्नेछिन्।
त्यसपछि नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ। प्रस्तावमा वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी सुरक्षित आवास, आधारभूत सेवा, शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापना तथा यथाशीघ्र लालपूर्जा वितरणको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ। उक्त प्रस्तावलाई सांसद ऐनबहादुर महर, युवराज दुलाल र आरेन राईले समर्थन गरेका छन्।
यता, प्रतिनिधिसभाको बैठकसँगै आज पाँच वटा संसदीय समितिको बैठक पनि बस्नेछ।
अर्थ समितिले ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ संशोधन विधेयकमाथि दफावार छलफललाई निरन्तरता दिनेछ भने उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापनबारे छलफल गर्ने कार्यसूची तय गरेको छ।
राज्य व्यवस्था तथा सुशासन समितिले ‘नेपाल विशेष सेवा ऐन, २०४२’ सम्बन्धी विधेयकमाथि सैद्धान्तिक तथा दफावार छलफल गर्नेछ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले ‘पर्यटन विधेयक, २०८१’बारे मन्त्रालयसँग छलफल गर्नेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले सरकारी आश्वासनसम्बन्धी विषयमा पूर्वसभापति रामनारायण विडारीसँग छलफल गर्ने कार्यक्रम रहेको छ।










