सुरक्षा संवेदनशीलताबीच मधेस सरकारको कडाइ, सरकारी गाडी अत्यावश्यक काममा मात्रै चलाइने
जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रदेशभर देखिएको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारी सवारी साधनको प्रयोगमा कडाइ गरेको छ। अत्यावश्यक सरकारी कामबाहेक अन्य कुनै पनि प्रयोजनमा सरकारी सवारी साधन प्रयोग नगर्न प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालयलाई निर्देशन दिइएको हो।
गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशका सबै सरकारी कार्यालयलाई पत्राचार गर्दै हालको सुरक्षा अवस्थालाई ध्यानमा राखी सरकारी सवारी साधनको सुरक्षित व्यवस्थापन गर्न र अनावश्यक रूपमा सञ्चालन नगर्न आग्रह गरेको छ।
मन्त्रालयका अधिकृत राधेशंकर प्रसाद पन्तद्वारा जारी पत्रमा सरकारी कार्यालयका लागि उपलब्ध सवारी साधनलाई अत्यावश्यक कामबाहेक अन्य प्रयोजनमा प्रयोग नगर्न तथा तिनको सुरक्षा सुनिश्चित गर्न निर्देशन दिइएको उल्लेख छ।
पछिल्ला दिनमा मधेस प्रदेशका केही जिल्लामा विकसित सुरक्षा चुनौती र तनावपूर्ण अवस्थाका कारण सुरक्षा निकाय उच्च सतर्कतामा रहेका बेला प्रदेश सरकारले सरकारी सम्पत्ति, सवारी साधन तथा कर्मचारीको सुरक्षालाई प्राथमिकतामा राख्दै यो निर्णय गरेको हो।
प्रदेश सरकारको यो निर्देशनसँगै अब सरकारी सवारी साधनको प्रयोगमा थप निगरानी र नियन्त्रण हुने अपेक्षा गरिएको छ।










