सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक जनाको मृत्यु

कोल्हवी न्यूज
२०८३ श्रावण १४, बिहीबार १५:४७ गते

सिरहाको गोलबजारमा बिहीबार प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ। मृतकको हालसम्म सनाखत हुन सकेको छैन।

जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार प्रदर्शनका क्रममा गोली लागेर युवकको ज्यान गएको हो। घटनापछि प्रदर्शनकारीहरूले मृतकको शव सडकमै राखेर विरोध प्रदर्शन जारी राखेका छन्।

प्रदर्शनकारीहरूले सुरक्षाकर्मीलाई शव उठाउन नदिएको प्रशासनले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार शव अहिले पनि घटनास्थलमै राखिएको छ र प्रदर्शन जारी रहेको छ।

यता, प्रहरीले भने प्रदर्शन नियन्त्रणका क्रममा गोली नचलाएको दाबी गरेको छ। प्रशासनका अनुसार प्रहरीले हवाई फायर र अश्रुग्यास (टियर ग्यास) मात्र प्रयोग गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ भने क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*