अब ह्वाट्सएप ब्राउजरबाटै हुनेछ स्क्रिन सेयरिङ र कल ट्रान्सफर

कोल्हवी न्यूज
२०८३ श्रावण १४, बिहीबार १४:४० गते

ह्वाट्सएपले आफ्नो वेब भर्सनमा अडियो र भिडियो कलिङ सुविधा विस्तार गर्न थालेको छ। मेटाको स्वामित्वमा रहेको यस प्लेटफर्मको नयाँ अपडेटसँगै अब प्रयोगकर्ताले कुनै अतिरिक्त एप डाउनलोड नगरी सिधै वेब ब्राउजरबाट व्यक्तिगत तथा सामूहिक अडियो–भिडियो कल गर्न र प्राप्त गर्न सक्नेछन्।

नयाँ सुविधाले ह्वाट्सएप वेब प्रयोगकर्तालाई मोबाइल वा डेस्कटप एपमा जानुपर्ने झन्झट हटाउने कम्पनीले जनाएको छ। विशेषगरी साझा कम्प्युटर, कार्यालयको ल्यापटप वा ब्राउजरमै काम गर्न रुचाउने प्रयोगकर्ताका लागि यो अपडेट उपयोगी हुने विश्वास गरिएको छ।

वेब कलिङमा स्क्रिन सेयरिङ, कल रियाक्सन, कल हिस्ट्री तथा मनपर्ने सम्पर्क देखाउने छुट्टै ‘कल्स’ ट्याबसमेत उपलब्ध हुनेछ। कम्पनीका अनुसार वेबमार्फत गरिने सबै कल एन्ड–टु–एन्ड इन्क्रिप्टेड हुनेछन् र प्रयोगमा कुनै समय सीमा पनि रहने छैन।

यससँगै ह्वाट्सएपले कल ट्रान्सफर सुविधा पनि ल्याएको छ। यसमार्फत चलिरहेको सामूहिक कललाई नकाटीकन मोबाइल, वेब वा डेस्कटपबीच सहज रूपमा सार्न सकिनेछ। उदाहरणका लागि मोबाइलबाट सुरु गरिएको कललाई घर पुगेपछि कम्प्युटरमा वा कम्प्युटरबाट फेरि मोबाइलमा निरन्तरता दिन सकिनेछ।

सामूहिक कललाई अझ सुरक्षित बनाउन वेटिङ रुम सुविधा पनि थपिएको छ। कल होस्टले स्वीकृति दिएपछि मात्र सहभागीहरू कलमा प्रवेश गर्न सक्ने व्यवस्था रहनेछ, जसले कार्यालय बैठक, अनलाइन कक्षा तथा औपचारिक भिडियो कन्फरेन्सलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

यसबाहेक कम्पनीले क्विक एचडी भिडियो र नोइज सप्रेसन सुविधा पनि सार्वजनिक गरेको छ। यसले भिडियो कल सुरु हुनेबित्तिकै स्पष्ट भिडियो उपलब्ध गराउने र पृष्ठभूमिको अनावश्यक आवाज हटाएर कुराकानीलाई थप स्पष्ट बनाउनेछ।

ह्वाट्सएपका अनुसार यी सबै नयाँ सुविधाहरू चरणबद्ध रूपमा विश्वभरका प्रयोगकर्तामाझ उपलब्ध गराइँदै छन् भने सबै प्रयोगकर्तासम्म पुग्न केही समय लाग्न सक्ने जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*