आश्मान गोपालीको रहस्यमय मृत्यु, होटल सञ्चालकसहित ८ जना नियन्त्रणमा

कोल्हवी न्यूज
२०८३ श्रावण १२, मंगलवार ०८:५९ गते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा भेटिएपछि प्रहरीले घटनालाई शंकास्पद मानेर अनुसन्धान अघि बढाएको छ। घटनाको अनुसन्धानका क्रममा होटल सञ्चालकसहित आठ जनालाई नियन्त्रणमा लिइएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत अवस्थामा फेला परेका व्यक्ति थाहा नगरपालिका–१० निवासी ४१ वर्षीय आश्मान गोपाली हुन्। घटनास्थलमा रगतसमेत देखिएकाले प्रहरीले प्रारम्भदेखि नै सबै कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ।

घटनाको जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक उमाशंकर प्रसादको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। त्यसपछि बागमती प्रदेश प्रहरी कार्यालयबाट कुकुरसहितको विशेष अनुसन्धान टोलीसमेत परिचालन गरिएको थियो।

अनुसन्धानका क्रममा घटनासँग सम्बन्धित हुन सक्ने आशंकामा होटल सञ्चालक कमानसिंह माझीसहित आठ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये छ जना महिला रहेका छन्। उनीहरूसँग सोधपुछ भइरहेको र घटनाको वास्तविकता पत्ता लगाउन अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

यता, मृतकका आफन्त र स्थानीय बासिन्दाले आश्मान गोपालीको हत्या भएको आशंका व्यक्त गरेका छन्। प्रहरीले भने पोस्टमार्टम प्रतिवेदन, फरेन्सिक परीक्षण र अनुसन्धानको निष्कर्षपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजेश बतौलाले घटनासँग जोडिएका सबै पक्षमाथि अनुसन्धान भइरहेको र आवश्यक प्रमाण सङ्कलनको काम जारी रहेको जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*