मधेश प्रदेशका १० स्थानीय तहले अझै ल्याएनन् आगामी आर्थिक वर्षको बजेट
जनकपुरधाम । संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहले हरेक वर्षको असार मसान्तभित्र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिसक्नुपर्ने भए पनि मधेश प्रदेशका १० स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन्।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा प्रविष्ट विवरणअनुसार सिराहाका सुखीपुर नगरपालिका र औरही गाउँपालिका तथा धनुषाको कमला नगरपालिकाले हालसम्म बजेट सार्वजनिक गरेका छैनन्।
त्यसैगरी रौतहटका गरुडा नगरपालिका, कटहरिया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिका तथा पर्साका छिपहरमाई र पकाहा मैनपुर गाउँपालिकाले पनि बजेट ल्याउन बाँकी रहेको पाइएको छ।
संविधानमा हरेक वर्ष जेठ १५ गते सङ्घीय सरकार, असार १ गते प्रदेश सरकार र असार मसान्तभित्र स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ।
तर, सम्बन्धित स्थानीय तहमा उत्पन्न आन्तरिक राजनीतिक विवाद, जनप्रतिनिधिबीचको मतभेद तथा केही प्राविधिक समस्याका कारण तोकिएको समयसीमा नाघिसक्दा पनि बजेट प्रस्तुत हुन नसकेको जनाइएको छ।










