रेमिट्यान्सले अर्थतन्त्रलाई बलियो बनायो, ९ खर्बभन्दा बढी शोधनान्तर बचत
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनाको आर्थिक स्थिति प्रतिवेदनले देशको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको जनाएको छ।
प्रतिवेदनअनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ३८.२ प्रतिशतले बढेर २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ पुगेको छ। रेमिट्यान्समा भएको उल्लेख्य वृद्धिका कारण देशको शोधनान्तर स्थिति ९ खर्ब २६ अर्ब ६ करोड रुपैयाँले बचतमा पुगेको छ भने चालू खाता पनि ८ खर्ब रुपैयाँभन्दा बढीले बचतमा रहेको छ।
नेपालसँग हाल ३७ खर्ब ५५ अर्ब ६४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ। उक्त सञ्चितिले करिब १६ महिनासम्म वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
यस्तै, समीक्षा अवधिमा औसत मुद्रास्फीति २.८९ प्रतिशतमा सीमित रहँदा बैंकिङ क्षेत्रमा तरलता सहज बनेसँगै ब्याजदरमा उल्लेख्य कमी आएको छ। तर, आयात १५.२ प्रतिशतले बढेपछि व्यापार घाटा भने १६ खर्ब १६ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।










