जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडको बजेट, पर्यटन र सरसफाइलाई प्राथमिकता

कोल्हवी न्यूज
२०८३ असार २९, सोमबार १७:२२ गते

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब ६५ करोड २० लाख ३२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न १५औँ नगरसभामा मेयर मनोजकुमार साहले नीति तथा कार्यक्रमसँगै आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन्।

मेयर साहका अनुसार आगामी बजेटमा पर्यटन प्रवर्द्धन, सरसफाइ तथा शहरी पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइएको छ। बजेटको वित्तीय स्रोतमा करिब २० करोड रुपैयाँ आन्तरिक आम्दानी, नेपाल सरकारको समानीकरण अनुदान, प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट तथा सशर्त अनुदान, साथै चालु आर्थिक वर्षको बचत रकम समावेश गरिएको छ।

उनले आगामी आर्थिक वर्षमा एशियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालन हुने शहरी उत्थानशीलता परियोजना को ठेक्का प्रक्रिया अघि बढाइने जानकारी दिए। परियोजनाका लागि एडीबीको सहयोगसँगै नगर विकास कोषबाट प्राप्त हुने ऋण र नगरपालिकाको आन्तरिक स्रोतबाट आवश्यक रकम व्यवस्थापन गरिने उनले बताए।

मेयर साहले उक्त परियोजना सम्पन्न भएपछि जनकपुरधामका सडक, नाला तथा सामाजिक–सांस्कृतिक पूर्वाधार थप व्यवस्थित हुने विश्वास व्यक्त गरे। यद्यपि परियोजनामा नगरपालिकाको समेत लगानी आवश्यक पर्ने भएकाले आन्तरिक स्रोतमा केही दबाब पर्ने उनले स्वीकार गरे।

बजेट प्रस्तुत हुनुअघि नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि विभिन्न वडाका जनप्रतिनिधिहरूले सुझाव तथा प्रश्नसमेत उठाएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*