वीरगञ्ज हेल्थ केयर सेन्टरमा अत्याधुनिक ब्लड एनालाइजर सञ्चालन, क्यान्सरसम्बन्धी परीक्षण पनि हुने

कोल्हवी न्यूज
२०८३ असार २८, आईतवार १६:४९ गते

वीरगञ्ज, २८ असार – पर्साको बहुअरीस्थित वीरगञ्ज हेल्थ केयर सेन्टरले रक्त परीक्षण सेवालाई थप आधुनिक, छिटो र प्रभावकारी बनाउन अत्याधुनिक अटोमेटेड ब्लड एनालाइजर मेसिन सञ्चालनमा ल्याएको छ।

विशेष समारोहबीच सञ्चालनमा ल्याइएको उक्त मेसिनबाट विभिन्न प्रकारका रक्त परीक्षणका साथै क्यान्सरसँग सम्बन्धित केही महत्वपूर्ण परीक्षणसमेत गर्न सकिने अस्पतालले जनाएको छ। नयाँ प्रविधिको प्रयोगसँगै परीक्षण प्रक्रिया छिटो हुने, कम समयमा रिपोर्ट उपलब्ध हुने तथा परीक्षणको विश्वसनीयता र गुणस्तरमा सुधार आउने विश्वास अस्पतालको छ।

मेसिनको औपचारिक उद्घाटनका अवसरमा वरिष्ठ उद्योगपति बाबुलाल चाचन, मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत तथा वरिष्ठ पत्रकार जगदीश शर्मालगायतले रक्त परीक्षण गराएर सेवाको शुभारम्भ गरेका थिए।

अस्पतालका निर्देशक डा. अबुल हैसले नयाँ प्रविधि सञ्चालनमा आएपछि सेवाग्राहीले कम शुल्कमा छिटो, सहज र भरपर्दो रक्त परीक्षण सेवा पाउने बताए। उनका अनुसार यसअघि केही विशेष परीक्षणका लागि अन्यत्र जानुपर्ने बाध्यता अब धेरै हदसम्म हट्नेछ।

वीरगञ्ज हेल्थ केयर सेन्टरले आगामी दिनमा थप आधुनिक स्वास्थ्य उपकरण भित्र्याउँदै पर्सासहित आसपासका जिल्लाका नागरिकलाई गुणस्तरीय, सहज र बिरामीमैत्री स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*