गर्मी बढेसँगै सर्लाहीमा सर्पदंशका घटना बढे, चार महिनामै ३०५ बिरामी

कोल्हवी न्यूज
२०८३ असार २१, आईतवार ०७:३७ गते

सर्लाहीमा यस वर्ष अत्यधिक गर्मी बढेसँगै सर्पदंशका घटना उल्लेख्य रूपमा बढेका छन्। लालबन्दी नगरपालिका–१ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा असारको तेस्रो हप्तासम्म मात्रै ३०५ जना उपचारका लागि पुगेका छन्। उपचार केन्द्रका अनुसार यो संख्या गत वर्षको तुलनामा बढी हो।

स्वास्थ्य सहायक जगन्नाथ यादवका अनुसार फागुनदेखि सर्पदंशका बिरामीको चाप बढ्न थालेको हो। केन्द्रमा फागुनमा १७, चैतमा ४७, वैशाखमा ६५, जेठमा ८५ र असारको तेस्रो हप्तासम्म ९१ जना सर्पदंशका बिरामी उपचारका लागि आएका छन्।

केन्द्रका अध्यक्ष उद्धव पौडेलले गर्मी बढेसँगै विषालु सर्पहरू मुसाको दुलो, झाडी तथा अन्य लुक्ने स्थानबाट बाहिर निस्कने र रातिको समयमा आहाराको खोजीमा हिँड्दा मानिससँग जम्काभेट हुने भएकाले डस्ने घटना बढ्ने बताए। उनका अनुसार सर्पले मानिसलाई खोजेर आक्रमण नगर्ने, तर खतरा महसुस हुँदा आत्मरक्षाका लागि डस्ने गर्छ।

यस वर्ष उपचारका लागि आएका बिरामीमध्ये कमन करेतले डसेका तीन जनालाई थप उपचारका लागि जनकपुर रिफर गरिएको छ भने अन्य सबैको उपचार केन्द्रमै गरिएको स्वास्थ्य सहायक यादवले जानकारी दिए।

उपचार केन्द्रका अनुसार उपचारका लागि आउनेमध्ये पाँचदेखि सात प्रतिशत बिरामीमा मात्रै विष फैलिएको हुन्छ। १५ देखि २० प्रतिशतमा सुक्खा डसाइ (ड्राइ बाइट) हुने र ७३ देखि ८० प्रतिशत बिरामी विषरहित सर्पको डसाइ वा सर्पले डसेको आशंकामा आउने गरेका छन्।

दुई जनासम्मलाई एकैपटक आपत्कालीन सेवा दिन सक्ने क्षमता रहेको केन्द्रमा दुई एमबिबीएस चिकित्सक, दुई सीएमए, तीन एचए तथा नेपाली सेनाका दुई स्वास्थ्य प्राविधिक कार्यरत छन्।

चिकित्सकहरूले सर्पले डसेपछि झारफुक वा घरेलु उपचारमा समय नखेराल्न आग्रह गरेका छन्। सर्पको पहिचान गर्न सके सुरक्षित रूपमा जानकारी राख्ने र बिरामीलाई सकेसम्म छिटो उपचार केन्द्र पुर्‍याउनु नै ज्यान बचाउने सबैभन्दा प्रभावकारी उपाय भएको उनीहरूको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*