बारामा होटल र मिठाई पसलको अनुगमन, एक फर्मलाई १० हजार जरिवाना
बारा । खाद्य स्वच्छता र उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै बाराका विभिन्न स्थानमा होटल, क्यान्टिन, रेष्टुरेन्ट तथा मिठाई पसलहरूको संयुक्त अनुगमन गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगन्जको नेतृत्वमा निजगढ, कलैया र प्रसौनी क्षेत्रमा सञ्चालित खाद्य व्यवसायहरूको आकस्मिक निरीक्षण गरिएको हो।
अनुगमनका क्रममा कार्यालय प्रमुख सुरेश कुमार सिंहले व्यवसायीलाई भान्साको नियमित सरसफाइ गर्न, खाद्य सामग्रीलाई धुलो, धुवाँ र कीराफट्याङ्ग्राबाट सुरक्षित राख्न, प्रतिबन्धित रङ प्रयोग नगर्न तथा खाने तेलको गुणस्तरमा विशेष ध्यान दिन निर्देशन दिएका छन्।
त्यसैगरी, पटक–पटक प्रयोग गरिएको तेल तथा म्याद गुज्रिएका खाद्य सामग्री बिक्री नगर्न चेतावनी दिँदै खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गर्ने एक फर्मलाई प्रचलित कानुनअनुसार १० हजार रुपैयाँ जरिवाना गरिएको छ।
अनुगमन टोलीले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित क्षेत्रमा कुनै पनि प्रकारको लापरबाही नगर्न व्यवसायीलाई आग्रह गरेको छ। साथै, आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिइने र उपभोक्ताले समेत गुणस्तरीय खाद्य वस्तुको छनोटमा सचेत हुनुपर्नेमा जोड दिएको छ।










