स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड बक्यौता भुक्तानी

कोल्हवी न्यूज
२०८३ असार १९, शुक्रबार १७:४१ गते

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई चालु आर्थिक वर्षको मङ्सिर महिनासम्मको सबै बक्यौता रकम भुक्तानी गरेको जनाएको छ।

बोर्डले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार सेवा प्रदायक स्वास्थ्य संस्थालाई भुक्तानी गर्न बाँकी रहेको २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १५ रुपैयाँ निकासा गरिएको हो। यससँगै बोर्डमा आबद्ध सबै सेवा प्रदायक स्वास्थ्य संस्थाको गत मङ्सिरसम्मको दाबी बक्यौता फरफारक भएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार गत पुस महिनादेखिको दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल भइरहेको छ।

बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बीमित सेवाग्राहीको उपचारमा कुनै अवरोध वा कठिनाइ नआउने गरी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत तोकिएको मापदण्डअनुसार गुणस्तरीय सेवा उपलब्ध गराउन निर्देशन दिएको छ।

यस्तै, बीमित सेवाग्राहीलाई स्वास्थ्य बीमाअन्तर्गत उपलब्ध सेवाको जिम्मेवार रूपमा सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न आग्रह गरिएको छ। साथै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि आवश्यकताभन्दा बढी परीक्षण वा उपचार नगर्न तथा स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न सहयोग गर्न बोर्डले आह्वान गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*