रौतहटमा विद्यालय भवन निर्माणमा ११ लाख अनियमितता, चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । रौतहटको राजपुर नगरपालिका–५ स्थित जनता (नमूना) माध्यमिक विद्यालयको प्रि–स्कुल ब्लक भवन निर्माणमा ११ लाख रुपैयाँभन्दा बढीको आर्थिक अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत आठ कोठे भवन निर्माणका लागि २०७५ फागुन ३ गते विद्यालयको बहुवर्षीय गुरुयोजना स्वीकृत गरी प्रधानाध्यापकको अध्यक्षतामा भौतिक संरचना निर्माण समिति गठन गरिएको थियो।
सुरुमा भवन निर्माणको लागत अनुमान ९७ लाख ३७ हजार ९९४ रुपैयाँ तय गरिएकोमा पछि संशोधन गरी १ करोड ५ लाख ७७ हजार ५९६ रुपैयाँ कायम गरिएको थियो। तर निर्माण सम्पन्न भएको भन्दै वास्तविक कामभन्दा बढी देखाएर १ करोड ९ लाख ८१ हजार ५०१ रुपैयाँको नक्कली मूल्याङ्कन, बिल तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी सरकारी रकम हिनामिना गरिएको आयोगको आरोप छ।
अनुसन्धानका क्रममा गरिएको स्थलगत नापजाँचबाट वास्तविक निर्माणभन्दा ११ लाख १० हजार ११४ रुपैयाँ बराबरको काम बढी भएको देखाई झुट्टा बिल, भरपाई र मूल्याङ्कन तयार गरी भुक्तानी लिएको पुष्टि भएको आयोगले जनाएको छ। यसबाट नेपाल सरकार तथा विद्यालयको कोषलाई गैरकानुनी रूपमा हानि पुर्याइएको निष्कर्ष आयोगको छ।
यस प्रकरणमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर, तत्कालीन इन्जिनियर मोहम्मद शाह फैसल, विद्यालयका तत्कालीन प्रधानाध्यापक विजयकान्त मिश्र र लेखापाल शेख जहिर विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
आयोगले चारै जनाबाट ११ लाख १० हजार ११४ रुपैयाँ बिगो असुल, सो बराबर जरिवाना तथा कैद सजायको माग गरेको छ। साथै इन्जिनियर मोहम्मद शाह फैसलविरुद्ध झुट्टा प्राविधिक मूल्याङ्कन र कार्य सम्पन्न प्रतिवेदन तयार गरेको आरोपमा थप सजायको मागसमेत गरिएको छ।










