कक्षा १२ को नतिजामाथि प्रश्न उठेपछि उत्तरपुस्तिका नमूना परीक्षण गरिने
काठमाडौं । कक्षा १२ को परीक्षाफलप्रति विद्यार्थीहरूको असन्तुष्टि बढ्दै गएपछि सरकारले उत्तरपुस्तिकाको नमूना परीक्षण गर्ने निर्णय गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षणसँगै परीक्षाफल तथा तथ्याङ्क प्रविष्टि प्रक्रियाको पुनः जाँच गर्न समिति गठन गरेको हो।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधिसमेत रहने गरी समिति गठन गरिएको बताएका छन्। समितिले परीक्षाफल प्रकाशन प्रक्रियाको अध्ययन गरी आवश्यक सुझाव प्रस्तुत गर्ने जनाइएको छ।
मन्त्री पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले अपनाएको नतिजा प्रकाशन प्रक्रियाबारे आफ्नो धारणा यसअघि नै सार्वजनिक गरिसकेको उल्लेख गर्दै हालसम्मको प्रक्रियाप्रति आफू स्पष्ट र विश्वस्त रहेको बताएका छन्। यद्यपि विद्यार्थीहरूबाट उठेका गुनासोको सम्बोधन गर्न थप परीक्षण आवश्यक ठानिएको उनको भनाइ छ।
परीक्षाफलप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका थिए। परीक्षा अपेक्षाअनुसार राम्रो हुँदाहुँदै पनि निकै कम ग्रेड प्राप्त भएको दाबी गर्दै उनीहरूले उत्तरपुस्तिका पुनः परीक्षण गर्न माग गरेका छन्।
विद्यार्थीहरूले सार्वजनिक गरिएको नतिजामा त्रुटि भएको आरोप लगाउँदै त्यसले आफ्नो मेहनत र भविष्यमा प्रत्यक्ष असर पारेको बताएका छन्। आन्दोलनरत विद्यार्थीहरूले निष्पक्ष छानबिन र न्यायोचित मूल्याङ्कनको माग गरेका छन्।
मन्त्री पोखरेलले विद्यार्थीहरूको शान्तिपूर्ण आन्दोलनप्रति सम्मान व्यक्त गर्दै सामाजिक सञ्जालमा आन्दोलनकारी विद्यार्थीमाथि गरिएका नकारात्मक टिप्पणीप्रति असन्तुष्टि जनाएका छन्। उनले लोकतान्त्रिक अधिकारअन्तर्गत गरिने शान्तिपूर्ण आन्दोलनको सम्मान गर्न सबैलाई आग्रह गरेका छन्।
कक्षा १२ को नतिजालाई लिएर देशभर चासो बढिरहेका बेला मन्त्रालयले गठन गरेको समितिको प्रतिवेदनपछि वास्तविक अवस्था थप स्पष्ट हुने अपेक्षा गरिएको छ।









