युद्ध रोकिएसँगै विश्व बजारमा तेल सस्तो, नेपालमा मूल्य घट्ने संकेत

कोल्हवी न्यूज
२०८३ असार ११, बिहीबार १८:४४ गते

काठमाडौं । मध्यपूर्वमा तनाव कम भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा घटेको छ। विश्व बजारमा तेलको मूल्य निर्धारणको प्रमुख आधार मानिने ब्रेन्ट क्रुडको मूल्य अहिले युद्ध शुरू हुनुअघिको अवस्थाभन्दा पनि तल झरेको छ।

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्नुअघि फेब्रुअरी २८ मा ब्रेन्ट क्रुड प्रतिब्यारेल ७६ अमेरिकी डलरमा कारोबार भइरहेको थियो। युद्ध चर्किएपछि यसको मूल्य १२० डलरसम्म पुगेको थियो। तर हाल युद्धविराम र क्षेत्रीय तनावमा आएको कमीपछि ब्रेन्ट क्रुडको मूल्य घटेर प्रतिब्यारेल ७२ डलरको हाराहारीमा पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा तत्काल नदेखिने नेपाल आयल निगमले जनाएको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार नेपालले कच्चा तेल नभई प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्ने भएकाले मूल्य समायोजन भारतीय आयल निगम (आईओसी) बाट प्राप्त नयाँ मूल्यसूचीका आधारमा हुने गर्दछ।

आईओसीले हरेक महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूची पठाउने व्यवस्था रहेको छ। त्यसअनुसार अब जुलाई १ मा प्राप्त हुने मूल्यसूचीपछि मात्रै नेपाली बजारमा इन्धनको मूल्य घट्ने वा नघट्नेबारे स्पष्ट हुने निगमले जनाएको छ।

मध्यपूर्वमा युद्ध शुरू हुनुअघि नेपालमा पेट्रोल प्रतिलिटर १५७ रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर १४२ रुपैयाँमा बिक्री हुँदै आएको थियो। युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि पेट्रोल, डिजेल तथा एलपी ग्यासको मूल्यमा समेत वृद्धि भएको थियो।

गएको साता अमेरिका र इरानबीच भएको समझदारीपछि क्षेत्रीय तनाव कम हुँदै गएको छ। यही कारण विश्व बजारमा तेलको आपूर्ति सहज बनेको र मूल्य घट्न थालेको विश्लेषण गरिएको छ। अन्तर्राष्ट्रिय बजारको यही प्रवृत्ति कायम रहे नेपाली उपभोक्ताले पनि आगामी दिनमा इन्धनको मूल्यमा केही राहत पाउन सक्ने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*