गोलबजार नगरपालिकाको ७५ करोड ५६ लाखको बजेट, शिक्षा–स्वास्थ्य र कृषिलाई प्राथमिकता
सिरहा । गोलबजार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७५ करोड ५६ लाख ८६ हजार रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न १५औँ नगर अधिवेशनमा नगर उपप्रमुख मानती कुमारी साहले बजेट प्रस्तुत गरेकी हुन्।
प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ ५६ करोड २१ लाख ८६ हजार रुपैयाँ तथा पूँजीगत खर्चतर्फ १९ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ। बजेट कार्यान्वयनका लागि संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आम्दानी तथा गत आर्थिक वर्षको मौज्दात रकमलाई स्रोतका रूपमा उपयोग गरिने जनाइएको छ।
नगरसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख श्यामकुमार श्रेष्ठले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताए। नगरवासीको जीवनस्तर उकास्ने उद्देश्यले यी क्षेत्र केन्द्रित कार्यक्रम र बजेट विनियोजन गरिएको उनको भनाइ थियो।
अधिवेशनका प्रमुख अतिथि तथा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंहले जनप्रतिनिधिको प्रमुख जिम्मेवारी नीति तथा कार्यक्रम निर्माण गर्नु रहेको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा कर्मचारीतन्त्रको महत्वपूर्ण भूमिका रहने बताए। उनले इमान्दारिता र जिम्मेवारीपूर्वक काम गर्न कर्मचारीलाई आग्रह गरे।
मन्त्री सिंहले प्रदेश सरकारको नयाँ नीति तथा बजेटले शिक्षा, धर्म तथा सांस्कृतिक क्षेत्रको विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले प्रदेशका आठवटै जिल्लामा अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गरिरहेका पाँच–पाँच विद्यालयलाई अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी पनि दिए।
कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका उपप्रमुख दिलिप लामाले गोलबजार क्षेत्रमा २४सै घण्टा सेवा दिने सरकारी अस्पतालको आवश्यकता औंल्याए। सर्वसाधारणले सहज स्वास्थ्य सेवा पाउन सक्ने गरी अस्पताल स्थापना गर्न नगरपालिकाले पहल गर्नुपर्ने उनको सुझाव थियो।
नगर अधिवेशनमा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूले शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ र शुद्ध खानेपानीलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए। उनीहरूले हरेक वर्ष ठूलो रकम खर्च हुँदासमेत अपेक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै दिगो विकासका योजनामा जोड दिनुपर्ने बताएका थिए।
नगर प्रमुख श्यामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न नगरसभामा प्रमुख प्रशासकीय अधिकृत रुपनारायण खतिवडाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन वडा नम्बर ६ का वडाध्यक्ष तथा नगर प्रवक्ता सञ्जित लामाले गरेका थिए।









