आज निर्जला एकादशी : भगवान् विष्णुको आराधना, तुलसी दल अर्पण र दानको विशेष महत्त्व
काठमाडौं । हिन्दु धर्मावलम्बीहरूले आज ज्येष्ठ शुक्ल पक्षको निर्जला एकादशी श्रद्धा, भक्ति र उपवासका साथ मनाउँदै छन्। भगवान् विष्णुको प्रिय तिथिका रूपमा मानिने यस एकादशीमा श्रीहरिको पूजा–आराधना गरी जलसमेत त्याग गरेर व्रत बस्ने धार्मिक परम्परा रहेको छ।
धार्मिक मान्यताअनुसार निर्जला एकादशीको व्रतले वर्षभरिका सबै एकादशी व्रतको पुण्यफल प्राप्त हुने विश्वास गरिन्छ। यस दिन गङ्गा तथा अन्य पवित्र नदी, ताल वा जलाशयमा स्नान गरी भगवान् विष्णु, नारायण, श्रीकृष्ण वा शालिग्रामको पूजा गरिन्छ।
शास्त्रमा जल वा सर्वतले भरिएको घडा, अन्न, वस्त्र, गौ, छाता, आसन, कमण्डलु तथा अन्य आवश्यक सामग्री दान गर्नाले विशेष पुण्य प्राप्त हुने उल्लेख छ। भगवान् विष्णुलाई तुलसी दल अर्पण गर्नु पनि आजको दिन अत्यन्त शुभ मानिन्छ।
धार्मिक ग्रन्थहरूमा वर्णन भएअनुसार महर्षि व्यासले भीमसेनलाई निर्जला एकादशीको महत्त्व सुनाउँदै यस दिन निर्जल व्रत गरी शंखमा जल भरेर दान गर्नुपर्ने बताएका छन्। यसरी विधिपूर्वक व्रत गरेमा मानिस पापमुक्त भई मोक्षको मार्गमा अग्रसर हुने विश्वास छ।
तुलसी दल अर्पण गर्ने विधि
निर्जला एकादशीमा बिहान स्नान गरी पूजा स्थल सफा गरेर भगवान् विष्णुको मूर्ति वा तस्वीर स्थापना गरिन्छ। श्रद्धापूर्वक संकलन गरिएको तुलसी दल “ॐ नमो नारायणाय” वा “ॐ नमो भगवते वासुदेवाय” मन्त्र जप गर्दै भगवान्लाई अर्पण गरिन्छ। विष्णु सहस्रनाम, हरिनाम संकीर्तन तथा भजन–कीर्तनसहित तुलसी अर्पण गर्नुलाई विशेष फलदायी मानिन्छ।
धार्मिक विश्वास
तुलसीलाई देवी स्वरूप मानिने भएकाले एकादशीमा तुलसी दल अर्पण गर्दा भगवान् विष्णुको विशेष कृपा प्राप्त हुने धार्मिक विश्वास छ। निर्जला एकादशीको व्रतले पाप क्षय, मनोकामना पूर्ति, पारिवारिक सुख–समृद्धि तथा आध्यात्मिक उन्नतिमा सहयोग पुग्ने विश्वास गरिन्छ।
धार्मिक आस्थाअनुसार श्रद्धापूर्वक निर्जला एकादशी व्रत, पूजा र दान गर्ने भक्तजनले भगवान् वासुदेवको कृपा प्राप्त गरी जीवनमा सुख, शान्ति र पुण्य आर्जन गर्ने जनविश्वास रहेको छ।









