ब्राजिल र मोरक्को नकआउट चरणमा, समूह ‘सी’ बाट विश्वकप यात्रा अगाडि बढ्यो

कोल्हवी न्यूज
२०८३ असार ११, बिहीबार ०७:३५ गते

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश गरेका छन्। बिहीबार बिहान सम्पन्न खेलहरूमा प्रभावशाली जित हात पार्दै दुवै टोलीले अन्तिम १६ मा स्थान सुरक्षित गरेका हुन्।

मियामीमा भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले पराजित गर्दै समूह विजेताको रूपमा अघिल्लो चरणमा प्रवेश गर्यो। ब्राजिलको जितमा स्टार फरवार्ड Vinícius Júnior ले दुई गोल गरे भने Matheus Cunha ले एक गोल थपे।

ब्राजिलले खेलको सातौं मिनेटमै अग्रता लिएको थियो। भिनिसियसले पहिलो गोल गर्दै टोलीलाई सुरुआती बढत दिलाए। पहिलो हाफको इन्जुरी समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए। त्यसपछि ६०औं मिनेटमा मथेउस कुन्हाले गोल गरेपछि ब्राजिलले सहज ३–० को जित सुनिश्चित गर्यो।

यता एटलान्टामा भएको अर्को खेलमा मोरक्कोले हाइटीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै ४–२ को जित निकाल्यो। खेलमा दुईपटक पछि परेको अवस्थामा पनि मोरक्कोले धैर्यता कायम राख्दै शानदार प्रदर्शन गरेको थियो।

खेलको १०औं मिनेटमा आत्मघाती गोलमार्फत हाइटीले अग्रता लिएको थियो। ३९औं मिनेटमा मोरक्कोले बराबरी गोल फर्काए पनि ४३औं मिनेटमा हाइटीले फेरि अग्रता बनायो। तर पहिलो हाफको अतिरिक्त समयमा मोरक्कोले अर्को गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्यायो।

दोस्रो हाफमा मोरक्कोले खेलमा पूर्ण नियन्त्रण जमायो। ७८औं मिनेटमा अग्रता लिएको मोरक्कोले ८९औं मिनेटमा थप एक गोल गर्दै ४–२ को प्रभावशाली जित दर्ता गर्यो।

यो नतिजापछि ब्राजिल र मोरक्को दुवैले समान ७ अंक जोडेका छन्। हेड-टु-हेड नतिजा र गोल अन्तरका आधारमा ब्राजिल समूह विजेता बनेको हो भने मोरक्को उपविजेताका रूपमा नकआउट चरणमा पुगेको छ।

हाइटी भने यसअघि नै समूह चरणबाट बाहिरिइसकेको छ। पराजित स्कटल्यान्डको उत्कृष्ट तेस्रो टोलीका रूपमा अघिल्लो चरणमा पुग्ने सम्भावना भने अझै जीवित रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*