रास्वपाको प्रथम महाधिवेशनमा मतदान जारी, ९९ सदस्यीय केन्द्रीय समिति चयन हुँदै
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि मतदान जारी रहेको छ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ सदस्यीय केन्द्रीय समितिका लागि विद्युतीय मतदान प्रणालीमार्फत मतदान भइरहेको छ। मतदान बुधबार राति करिब साढे १२ बजेदेखि सुरु भएको हो भने आज दिउँसो १२ बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ।
महाधिवेशनमा केन्द्रीय समितिका ९९ पदका लागि ३ सय ८४ भन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। उम्मेदवारी दर्ताप्रति कार्यकर्ताको उल्लेख्य आकर्षण देखिएको निर्वाचन समितिले जनाएको छ।
यसअघि पार्टी सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। अब मतदानबाट निर्वाचित हुने केन्द्रीय सदस्यहरूमध्येबाट पार्टीका पदाधिकारी चयन गरिने प्रक्रिया अघि बढ्नेछ।
चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको संगठनात्मक संरचना सुदृढ गर्ने, नयाँ नेतृत्व चयन गर्ने तथा भावी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।









