वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ट्रकबाट १ लाखभन्दा बढी ट्रामाडोल बरामद
पर्साको वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको मालवाहक ट्रकबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोल बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले राजस्व छलीको आशंकामा बा.प्र. ०३–००१ ख ३३४६ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको थियो। असार ८ गते साँझ पक्राउ गरिएको उक्त ट्रकलाई थप जाँचका लागि बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
राजस्व अनुसन्धान कार्यालयमा गरिएको विस्तृत परीक्षणका क्रममा ट्रकबाट १ लाख २० हजार ६२० क्याप्सुल ट्रामाडोल फेला परेको हो।
प्रहरीका अनुसार बरामद गरिएको औषधि कसरी, कहाँबाट र कुन प्रयोजनका लागि ल्याइएको हो भन्ने विषयमा अनुसन्धान जारी छ। घटनासँग सम्बन्धित व्यक्ति तथा सम्भावित संजालबारे पनि खोजबिन भइरहेको जनाइएको छ।
लागुऔषधका रूपमा दुरुपयोग हुन सक्ने ट्रामाडोलको ठूलो परिमाण बरामद भएपछि सुरक्षा निकायले सीमा क्षेत्र हुँदै हुने अवैध ओसारपसार नियन्त्रणमा थप निगरानी बढाएको जनाएको छ।









