बारागढीमा फिनल्यान्डेली टोलीको भ्रमण, शिक्षामा केन्द्रित छलफल

कोल्हवी न्यूज
२०८३ असार ९, मंगलवार १८:२३ गते

बाराको बारागढी गाउँपालिकामा फिनल्यान्डका राजदूत तथा उच्चस्तरीय टोलीले सद्भावना भ्रमण गरेका छन्। गाउँपालिकाले उक्त भ्रमणलाई स्थानीय विकास, विशेषगरी शिक्षा क्षेत्रका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।

भ्रमणका क्रममा टोलीले गाउँपालिकाको समग्र अवस्था, विकासका सम्भावना तथा चुनौतीबारे जानकारी लिएको थियो। विशेषगरी शिक्षा क्षेत्रको गुणस्तर, पूर्वाधार, व्यवस्थापन र सुधारका उपायबारे स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग विस्तृत छलफल भएको जनाइएको छ।

फिनल्यान्ड विश्वकै उत्कृष्ट शिक्षा प्रणाली अपनाउने मुलुकका रूपमा परिचित रहेकाले त्यहाँको अनुभवबाट स्थानीय शिक्षा क्षेत्रलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा समेत विचार आदान–प्रदान गरिएको थियो।

गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवाल का अनुसार भ्रमणले शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यको सम्भावना बढाएको छ। उनले आगामी दिनमा संयुक्त कार्यक्रम, अनुभव आदान–प्रदान तथा क्षमता अभिवृद्धिसम्बन्धी गतिविधि सञ्चालन गर्न सकिने विश्वास व्यक्त गरे।

भेटघाटमा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी राय लगायत जनप्रतिनिधिको सहभागिता रहेको थियो। गाउँपालिकाले राजदूत तथा उनको टोलीप्रति आभार व्यक्त गर्दै यस्तो संवादले स्थानीय शिक्षा क्षेत्रको सुधार र विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरेको छ।

भ्रमणलाई बारागढीको शैक्षिक तथा संस्थागत विकासका लागि अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*