भारत स्थित लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १५ जनाको मृत्यु
भारतको लखनउ स्थित अलिगञ्ज क्षेत्रमा रहेको एक कोचिङ इन्स्टिच्युटमा भएको भीषण आगलागीमा कम्तीमा १५ जनाको ज्यान गएको छ। घटनामा अन्य आठ जना गम्भीर घाइते भएका छन्।
चिकित्सकहरूका अनुसार अधिकांशको मृत्यु धुवाँका कारण निस्सासिएर श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि भएको हो। घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
किङ जर्ज मेडिकल युनिभर्सिटी का मेडिकल सुपरिन्टेन्डेन्ट प्रेम राज सिंह का अनुसार अस्पताल ल्याउँदा नै १५ जनाको मृत्यु भइसकेको थियो। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
आगलागीबाट भवनभित्र सञ्चालनमा रहेको लाइब्रेरी तथा कम्प्युटर प्रशिक्षण केन्द्रमा ठूलो क्षति पुगेको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
घटनाप्रति दुःख व्यक्त गर्दै नरेन्द्र मोदी ले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रधानमन्त्रीको राष्ट्रिय राहत कोषबाट ज्यान गुमाएकाका परिवारलाई जनही दुई लाख भारतीय रुपैयाँ तथा घाइतेलाई ५० हजार भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइने घोषणा गरिएको छ।
यसैबीच योगी आदित्यनाथ ले घटनास्थलको निरीक्षण गर्दै उद्धार तथा उपचार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। आगलागीको विस्तृत विवरण र क्षतिको मूल्याङ्कन गर्ने काम जारी रहेको बताइएको छ।









