वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने आरोपमा बाराका एक जना प्रहरी नियन्त्रणमा
वैदेशिक रोजगारीका लागि टर्की पठाइदिने भन्दै रकम असुली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति बाराको निजगढ नगरपालिका–१३ का स्थायी बासिन्दा तथा हाल काठमाडौंको गोकर्णेश्वर क्षेत्रमा बसोबास गर्दै आएका ४९ वर्षीय सुरेशगिरी रहेका छन्।
प्रहरीका अनुसार गिरीले एक व्यक्तिलाई आकर्षक तलबसहित टर्कीमा रोजगारी मिलाइदिने आश्वासन दिएर १ लाख ९० हजार रुपैयाँ लिएका थिए। रकम बुझाएपछि उनले पीडितसँग सम्पर्क तोडेको आरोप लगाइएको छ।
आफू ठगिएको महसुस गरेपछि पीडितले सम्बन्धित निकायमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका–१२ क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका गिरीलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटना बढिरहेका बेला प्रहरीले रोजगारीका लागि विदेश जान चाहने नागरिकलाई आधिकारिक प्रक्रिया र विश्वसनीय माध्यममार्फत मात्र सम्पर्क गर्न आग्रह गरेको छ।









