जितपुरसिमरा उपमहानगरले ल्याउँदै १ अर्ब ८७ करोडको बजेट

कोल्हवी न्यूज
२०८३ असार ९, मंगलवार १८:२८ गते

बाराको जितपुरसिमरा उपमहानगरपालिका ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ८७ करोड रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। उपमहानगरले असार १० गते बस्ने नगरसभामार्फत बजेट सार्वजनिक गर्ने जनाएको छ।

उपमहानगरका योजना शाखा प्रमुख सुधन चौधरीका अनुसार २४ वटा वडाका लागि २२ करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। कुल रकमको आधा हिस्सा सबै वडामा समान रूपमा वितरण गरिनेछ भने बाँकी रकम जनसंख्या, भौगोलिक अवस्था र राजस्व संकलनको आधारमा बाँडफाँट गरिएको छ।

यसअनुसार सबैभन्दा कम बजेट प्राप्त गर्ने वडाले ६१ लाख रुपैयाँ पाउनेछ भने सबैभन्दा बढी बजेट पाउने वडाका लागि १ करोड २३ लाख ७८ हजार रुपैयाँ छुट्याइएको छ। प्रत्येक वडालाई २१ लाख रुपैयाँ बराबरका ससर्त कार्यक्रमसमेत प्रदान गरिएको उपमहानगरले जनाएको छ।

ससर्त कार्यक्रमअन्तर्गत घर नम्बरिङ, बालमैत्री, वातावरणमैत्री तथा महिलामैत्री वडा घोषणा, साथै भूमिहीन सुकुम्बासीको तथ्यांक संकलनजस्ता कार्यक्रम सञ्चालन गरिनेछन्।

आगामी वर्षका लागि संघीय सरकारबाट ५१ करोड रुपैयाँ र मधेश प्रदेश सरकारबाट ५ करोड रुपैयाँ बराबरका ससर्त कार्यक्रम प्राप्त हुने उपमहानगरको अनुमान छ।

उपमहानगरको बाँकी बजेटमध्ये जितपुरसिमरा नगर अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि ८ देखि १० करोड रुपैयाँ, कर्मचारीको तलब–भत्ता व्यवस्थापनका लागि करिब ४५ करोड रुपैयाँ तथा पुराना योजनाको भुक्तानी मिलानका लागि ४० देखि ५० करोड रुपैयाँ खर्च हुने जनाइएको छ।

योजना शाखा प्रमुख चौधरीले यस वर्षको नगरसभा विगतका वर्षझैँ विवादित नहुने दाबी गरेका छन्। उनका अनुसार सबै वडाध्यक्षको सहमतिमा नगरसभा शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ।

उपमहानगरले हाल सम्पत्ति कर, बहाल कर, मालपोत, मनोरञ्जन कर, सवारी कर, कवाडी कर तथा ढुंगा, गिटी र बालुवालगायत ३६ शीर्षकबाट राजस्व संकलन गर्दै आएको छ। यी स्रोतबाट वार्षिक करिब २५ करोड रुपैयाँ आम्दानी हुने गरेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*