कोल्हवीमा सामूहिक तरकारी खेती सम्बन्धी पाँच दिने तालिम सम्पन्न
कोल्हवी:कोल्हवी नगरपालिकाको सहयोग तथा श्री जितिया बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड,कोल्हवी–बारा को आयोजनामा सञ्चालन गरिएको“सामूहिक तरकारी खेती सम्बन्धी पाँच दिने तालिम”संस्थाका अध्यक्ष ललित चौधरिको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ।
जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत आयोजित उक्त तालिम २०८३ साल जेठ ३१ गतेदेखि असार ४ गतेसम्म सञ्चालन गरिएको थियो। तालिमको समापन कार्यक्रम कोल्हवीमा आयोजित गरिएको थियो। कार्यक्रममार्फत सहभागी कृषक तथा सहकारीका सदस्यहरूलाई आधुनिक तरकारी खेती,सामूहिक उत्पादन प्रणाली, कृषि व्यवस्थापन,रोग तथा कीरा नियन्त्रण,बजार व्यवस्थापन तथा आयआर्जन वृद्धि सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ।
तालिममा सहभागीहरूले सामूहिक खेतीको महत्व,उत्पादन लागत घटाउने उपाय,उन्नत बीउबिजनको प्रयोग तथा व्यवसायिक तरकारी खेतीमार्फत आर्थिक अवस्था सुदृढ बनाउन सकिने विषयमा जानकारी प्राप्त गरेका थिए। प्रशिक्षकहरूले कृषि क्षेत्रलाई व्यवसायिक र आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न प्रविधि तथा अभ्यासबारे प्रशिक्षण दिएका थिए।
समापन कार्यक्रममा बोल्दै सरोकारवालाहरूले कृषि क्षेत्रको विकास र किसानको जीवनस्तर उकास्न यस्ता तालिम प्रभावकारी हुने बताएका छन्। सामूहिक खेतीको अवधारणाले साना किसानलाई एकीकृत गरी उत्पादन वृद्धि, लागत न्यूनीकरण तथा बजार पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको थियो।
कोल्हवी नगरपालिकाले जीविकोपार्जन सुधार कार्यक्रममार्फत कृषि, पशुपालन तथा स्वरोजगारमूलक गतिविधिलाई प्राथमिकता दिँदै आएको जनाएको छ। यस प्रकारका सीपमूलक तालिमले स्थानीय कृषकलाई व्यवसायिक खेतीतर्फ आकर्षित गरी आयआर्जन बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्र्ममा कोल्हवी नगरपालिकाकी उप-मेयर लक्ष्मी कुमारी चौधरी प्रमुख अतिथिको रुपमा रहनु भएको थियो भने बिशिस्ट अतिथिहरुमा कोल्हवी नगरपालिकाका सबै वडाका वडा अध्यक्षहरु रहनु भएको थियो।कार्यक्रममा सहभागिहरुलाई प्रमुख अतिथी चौधरिले प्रमाण पत्र समेत बितरण गर्नुभएको थियो भने कार्यक्र्मको सन्चालन संस्थाका सचिब धिरेन्द्र चौधरिको रहेको थियो।
आयोजक संस्था श्री जितिया बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आगामी दिनमा पनि कृषकको क्षमता अभिवृद्धि र उत्पादनशीलता बढाउने उद्देश्यका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। तालिममा सहभागीहरूले सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै कृषि उत्पादन वृद्धि गर्ने प्रतिबद्धता जनाएका छन्।









