निजगढमा सामुदायिक वनको ८ हेक्टर अतिक्रमित जग्गा खाली गराइयो

कोल्हवी न्यूज
२०८३ असार ९, मंगलवार १८:३० गते

बाराको निजगढ नगरपालिका–२ स्थित सिंगौल क्षेत्रमा रहेको वनदेवी सामुदायिक वन उपभोक्ता समूहको अतिक्रमित ८ हेक्टर जग्गा खाली गराइएको छ। डिभिजन वन कार्यालय बाराले वन कर्मचारी, वनरक्षक तथा सुरक्षा निकायको सहयोगमा अतिक्रमण हटाउने अभियान सुरु गरेको हो।

वन क्षेत्रभित्र स्थानीयवासीले केरा खेती गर्नुका साथै अस्थायी तथा स्थायी संरचना निर्माण गरेर बसोबास गर्दै आएका थिए। वन कार्यालयले यसअघि सूचना जारी गर्दै अतिक्रमित भूभाग निश्चित समयभित्र खाली गर्न आग्रह गरेको थियो।

सूचना जारी भएपछि केही स्थानीयले घरमा प्रयोग भएका जस्तापाता, टायल, झ्याल तथा ढोका सुरक्षित स्थानमा सार्ने काम गरेका थिए। स्थानीयहरूले आफूहरूले वन फँडानी नगरेको र विभिन्न व्यक्ति तथा संस्थामार्फत जग्गा खरिद गरेर बसोबास गरेको दाबी गर्दै आएका थिए।

वनदेवी सामुदायिक वनको करिब २० हेक्टर क्षेत्रफलमध्ये यसअघि नै १३ हेक्टरभन्दा बढी भूभाग अतिक्रमणमुक्त गरिसकिएको थियो। उक्त क्षेत्रमा काँडे तारबार गरी विभिन्न प्रजातिका बिरुवा रोप्ने कार्यसमेत सम्पन्न भएको वन कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालय बाराका प्रमुख सुजित कुमार झा का अनुसार अहिले खाली गराइएको ८ हेक्टर क्षेत्रमा पनि वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ।

वन क्षेत्रको संरक्षण, वातावरणीय सन्तुलन कायम राख्ने तथा वन्यजन्तुको प्राकृतिक बासस्थान सुरक्षित गर्ने उद्देश्यले अतिक्रमण हटाइएको कार्यालयको भनाइ छ। अतिक्रमण हटाउने क्रममा कुनै अप्रिय घटना वा सुरक्षा समस्या नदेखिएको जनाइएको छ।

वन कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय सुरक्षा निकायको संयुक्त टोलीको उपस्थितिमा अभियान सञ्चालन गरिएको थियो। सम्बन्धित निकायले वन संरक्षणका यस्ता अभियान आगामी दिनमा पनि निरन्तर रहने जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*